काठमाडौं। पशुपति खाद्य तेल उद्योग प्रालि को ८ अर्ब रुपैयाँ बराबरको छोटो अवधिको कर्जा सीमाको रेटिङ ए४ बाट ए४ ‘प्लस’ मा स्तरोन्नति गरेको छ।
इक्रा नेपालले गरेकाे रेटिङ अनुसार भारततर्फको निर्यात उल्लेख्य रूपमा बढेसँगै कम्पनीको कार्यकारी पूँजी व्यवस्थापनमा सुधार आएको, भुक्तानी असुली छिटो भएको तथा वर्किङ क्यापिटलमा पर्ने दबाब घटेको कारण रेटिङमा सुधार गरिएको हो। कम्पनीको नेट वर्किङ क्यापिटल/सञ्चालन आम्दानी अनुपात ९ महिना आव २०२५ को ५१ प्रतिशतबाट घटेर ९ महिना आव २०२६ मा २७ प्रतिशतमा झरेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार ९ महिना आव २०२६ मा कम्पनीको कुल बिक्री आम्दानीको करिब ८५ प्रतिशत हिस्सा भारततर्फको निर्यातबाट प्राप्त भएको छ। सन् १९८२ मा स्थापना भएको कम्पनीलाई चार दशकभन्दा लामो अनुभव, शारडा, राठी तथा वैद्य समूहको व्यावसायिक पृष्ठभूमि तथा भारत–नेपाल सीमास्थित दुहबी, सुनसरीमा रहेको उद्योगको रणनीतिक अवस्थिति पनि सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ।
यद्यपि, इक्रा नेपालले कम्पनीका केही प्रमुख जोखिमहरू पनि औंल्याएको छ। भारतको भन्सार नीति तथा साफ्टा अन्तर्गतको शून्य भन्सार सुविधामा उच्च निर्भरता रहेको र नेपाल सन् २०२६ को नोभेम्बरमा अति कम विकसित मुलुक बाट स्तरोन्नति भएपछि उक्त सुविधा प्रभावित हुन सक्ने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, कार्यकारी पूँजी व्यवस्थापनका लागि कर्जामा निर्भरता कायम रहेकाले कम्पनीको गियरिङ अनुपात २.० गुणा र कुल दायित्व/नेटवर्थ अनुपात २.९ गुणा रहेको जनाइएको छ।
कम्पनीले उत्पादनका लागि आवश्यक सोयाबिन, सनफ्लावर र पाम तेलजस्ता कच्चा पदार्थ पूर्ण रूपमा अर्जेन्टिना, युक्रेन, रुस तथा ब्राजिलबाट आयात गर्ने भएकाले विदेशी विनिमय दरको उतारचढाव तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य परिवर्तनले कम्पनीको नाफामा प्रत्यक्ष प्रभाव पार्ने जोखिम पनि प्रतिवेदनले औंल्याएको छ।
वित्तीय प्रदर्शनतर्फ, कम्पनीको सञ्चालन आम्दानी आव २०२५ को १० अर्ब ३० करोड रुपैयाँबाट बढेर ९ महिना आव २०२६ मै १० अर्ब १८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा OPBDITA मार्जिन ६.८ प्रतिशत र ब्याज भुक्तानी क्षमता ८.८ गुणा पुगेको छ, जसले कम्पनीको सञ्चालन क्षमता थप सुदृढ बन्दै गएको संकेत गरेको इक्रा नेपालले जनाएको छ।
पशुपति खाद्य तेल उद्योगले पाेस्टम्याम, हनुमान, हेल्लाे र पशुपति ब्रान्डअन्तर्गत सोयाबिन तेल, सनफ्लावर तेल, पाम ओलेन तथा वनस्पति घिउ उत्पादन गर्दै आएको छ। कम्पनीको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ भने उत्पादन केन्द्र सुनसरीको दुहबीमा सञ्चालनमा छ।
















प्रतिक्रिया दिनुहोस्