काठमाडौं । काठमाडौं महानगरपालिकाको टेकुस्थित बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्लान्टको पुनःस्थापना, आवश्यक उपकरण जडान, परीक्षण तथा प्राविधिक व्यवस्थापनको काम केन्द्रले गर्नेछ भने दीर्घकालीन सञ्चालन, मर्मत सम्भार र व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले लिनेछ।
कार्यवाहक प्रमुख डंगोलले बायोग्यास प्लान्टलाई निर्धारित समयभित्र सञ्चालनमा ल्याई यसको दिगो व्यवस्थापन महत्वपूर्ण रहेको बताइन्। उनले पुनःस्थापना मात्र नभई प्लान्टलाई सफल नमुनाका रूपमा विस्तार गर्नु महानगरको लक्ष्य रहेको उल्लेख गरिन् । डंगोलले भनिन, ‘पुनःस्थापना गर्नु मात्र महत्वपूर्ण उपलब्धि होइन। यसको दिगो सञ्चालन गर्नु र यसलाई सिकाइका रुपमा विस्तार गर्नु चाहिँ उपलब्धि हो । यो योजना सफल बनाएर सहरमा उत्पादन भएको फोहरलाई दिगो व्यवस्थापनको प्रणालीमा हाम्रो प्रयास जारी छ ।’
केन्द्रका कार्यकारी निर्देशक ढकालले आवश्यक उपकरण, सामग्री र प्राविधिक सेवामार्फत प्लान्ट सञ्चालनमा ल्याइने तथा अनुगमनपछि महानगरलाई हस्तान्तरण गरिने जानकारी दिए ।
महानगरपालिकाको एकीकृत दिगो फोहर व्यवस्थापन परियोजनाअन्तर्गत २०७२ सालमा निर्माण सुरु भएको उक्त प्लान्ट २०७५ सालदेखि सञ्चालनमा आएको थियो । प्राविधिक समस्याका कारण बीचमा बन्द भएको प्लान्टबाट दैनिक ३ मेट्रिक टन जैविक फोहर प्रशोधन गरी १४ किलोवाट विद्युत्, ३ सय किलोग्राम जैविक मल र १३ हजार ५ सय लिटर पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।
उक्त परियोजनामा महानगरपालिका र युरोपियन युनियनले १ करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए । प्लान्ट पुनः सञ्चालनपछि कुहिने फोहरको वैज्ञानिक व्यवस्थापन, बायोग्यास तथा जैविक मल उत्पादन र चक्रीय अर्थतन्त्र प्रवद्र्धनमा सहयोग पुग्ने महानगरको विश्वास छ । यसबाट बञ्चरेडाँडा पुग्ने फोहरको मात्रा घट्नुका साथै फोहरबाट आम्दानी सिर्जना हुने अपेक्षा गरिएको छ ।
















प्रतिक्रिया दिनुहोस्