Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

ग्यास आयात बढ्यो लाइन घटेन, समस्या आपूर्तिमा कि वितरण प्रणालीमा ?

ग्यास आयात बढ्यो लाइन घटेन, समस्या आपूर्तिमा कि वितरण प्रणालीमा ?
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरूले दाबी गरेका छन् । दैनिक औसत १०० भन्दा बढी ग्यास बुलेट आयात भइरहेको भनिए पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा उपभोक्ता अझै ग्यासका लागि लामो लाइन बस्न बाध्य छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल आयल निगमको टेकुस्थित पुरानो कार्यालयमा दिनहुँ ग्यास साट्न आउने उपभोक्ताको भीड देखिन्छ । स्थानीय डिपो तथा पसलमा ग्यास नपाएपछि उपभोक्ता टेकु पुग्ने गरेका छन् । आपूर्ति पर्याप्त भएको दाबी र बजारमा देखिएको अभावबीच अहिले प्रश्न उठेको छ– समस्या ग्यास आपूर्तिमा हो वा वितरण प्रणालीमा ?

एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार असार ३१ गतेदेखि पछिल्लो १६ दिनमा करिब ३० हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ। यही दर कायम रहे साउन महिनाभित्र मात्रै करिब ५० हजार मेट्रिक टनसम्म ग्यास आयात हुन सक्ने उनको भनाइ छ। उनका अनुसार असार ३१ गतेदेखि दैनिक अधिकतम १२५ वटासम्म र औसतमा १०५ वटासम्म ग्यास बुलेट नेपाल भित्रिरहेका छन् । सामान्य अवस्थामा दैनिक ८० देखि ९० वटा बुलेट ग्यास पर्याप्त हुने भए पनि अहिले त्यस भन्दा बढी आयात भइरहँदा पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् ।

उद्योगीहरूले अहिलेको समस्या ग्यास अभावभन्दा पनि खाली सिलिन्डर व्यवस्थापनमा रहेको बताएका छन् । १४.२ केजीको सिलिन्डर पुनः सहज भएपछि लामो समयदेखि खाली रहेका सिलिन्डर एकैपटक साट्न आउँदा बजारमा चाप बढेको उनीहरूको भनाइ छ । अध्यक्ष चन्दका अनुसार ग्यास भण्डारण गर्ने मुख्य माध्यम नै सिलिन्डर भएकाले खाली सिलिन्डर पर्याप्त मात्रामा उपलब्ध नभएसम्म आपूर्ति सहज बनाउन कठिन हुन्छ । ‘ग्यास कि बुलेटमा हुन्छ कि सिलिन्डरमा ? खाली सिलिन्डर फिर्ता नभएसम्म बजारमा सहज आपूर्ति गर्न समस्या हुन्छ,’ उनले भने ।

निगम भन्छ– आपूर्ति खपतअनुसार नै छ 

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने अहिलेको समस्या ग्यास अभावभन्दा पनि अचानक बढेको माग व्यवस्थापनसँग सम्बन्धित रहेको बताएका छन् । उनका अनुसार नेपालमा मासिक करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ र पछिल्लो समय खपतअनुसारकै परिमाणमा आयात भइरहेको छ । ‘फागुनमा ५१ हजार मेट्रिक टन ग्यास आयात हुँदा पनि बजारमा अभाव देखिएको थियो । त्यसपछि चैतमा ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन आयात हुँदा ठूलो समस्या देखिएन,’ उनले भने ।

निगमका अनुसार असारमा करिब ४४ हजार मेट्रिक टन र साउन १५ गतेसम्म २६ हजार मेट्रिक टन एलपी ग्यास आयात भइसकेको छ। हाल १४.२ केजीको सिलिन्डर पुनः उपलब्ध भएपछि लामो समयदेखि खाली रहेका सिलिन्डर भएका उपभोक्ता एकैपटक बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको निगमको दाबी छ। ‘जसको घरमा खाली सिलिन्डर थियो, सबैले एकैपटक साट्न खोज्दा बजारमा चाप बढेको हो,’ निगम प्रवक्ता ठाकुरले बताए । उनका अनुसार केही उपभोक्ताले प्रयोग गरेका ७.१ केजी सिलिन्डरबाट अपेक्षित परिणाम नपाएको गुनासो गरेका थिए । कतिपय अवस्थामा सिलिन्डरको तौल पुगे पनि आवश्यक प्रेसर नपुग्दा प्रयोगमा समस्या देखिएको उनले बताए ।

डिलरसँग ग्यास नपाएपछि सिलिण्डर बोकेर टेकुमा उपभोक्ता 

बजारमा ग्यास नपाएपछि काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको परिसरबाट उद्योगहरूले प्रत्यक्ष बिक्री सुरु गरेका छन् । नेपाल ग्यास, एभरेस्ट, सुगम, एचपी र श्रीरामलगायत कम्पनीले त्यहाँबाट ग्यास बिक्री गरिरहेका छन् । निगमले भने आफैं ग्यास बिक्री नगरेको स्पष्ट पारेको छ। डिलरबाट ग्यास नपाएका उपभोक्तालाई सहज बनाउन उद्योगहरूलाई निगमको परिसर प्रयोग गर्न दिइएको प्रवक्ता ठाकुरले बताए । ग्यास आयातको तथ्यांकले आपूर्ति भइरहेको देखाए पनि उपभोक्ताको अनुभवले अभाव देखाइरहेको छ। यसले एलपी ग्यास व्यवस्थापनमा आपूर्ति मात्र नभई वितरण प्रणाली, सिलिन्डर व्यवस्थापन र प्रभावकारी बजार अनुगमन पनि महत्वपूर्ण रहेको देखाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit