काठमाडौं । विद्युतीय सवारी चेरी क्यू आधिकारिक सार्वजनिक प्रदर्शनअघि नै काठमाडौंका सडकमा देखिएपछि अटोमोबाइल पारखी र सर्वसाधारणबीच यसको चर्चा बढेको छ।
चेरी क्यूको नेपालमा आधिकारिक सार्वजनिक प्रदर्शन आगामी साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा गरिने भएको छ।
नेपालका लागि चेरीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिका अनुसार एक्स्पोमा आगन्तुकले पहिलो पटक चेरी क्यूलाई नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन्। कम्पनीले यो मोडललाई चेरीको नयाँ पुस्ताको विद्युतीय सवारीमध्ये एक भएको जनाएको छ।
कम्पनीका अनुसार चेरी क्यूमा ४१.२ किलोवाट–घण्टा क्षमताको ब्याट्री, ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, ५४० डिग्री वरिपरि दृश्य देखाउने क्यामेरा, १७५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, ७० लिटर अगाडिको भण्डारण (फ्रंक), १५.६ इन्चको स्पर्शस्क्रिन सूचना तथा मनोरञ्जन प्रणाली र २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली (एडास) लगायतका आधुनिक सुविधा उपलब्ध छन्।
आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो अर्बन क्रसओभरले आकर्षक डिजाइन र स्मार्ट प्रविधिको संयोजन प्रस्तुत गर्ने कम्पनीको दाबी छ। चेरी क्यूले रेड डट डिजाइन अवार्ड २०२५ र आईएफ डिजाइन अवार्ड २०२६ समेत जितिसकेको छ।नाइमा मोबिलिटी एक्स्पोमा नै यसको मूल्य आधिकारिक रुपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्