काठमाडौं । यती डिस्टिलरी प्राइभेट लिमिटेडको आम्दानी सीमित ब्रान्डमा उच्च रूपमा केन्द्रित रहेको पाइएको छ। कम्पनीले ह्विस्की, भोड्का, जिनलगायत ६–७ प्रकारका मदिराजन्य उत्पादन गर्दै आए पनि ‘ओल्ड दरबार’, ‘ओल्ड दरबार चिम्नी’ र ‘८८४८’ भोड्काबाट कुल आम्दानीको ठूलो हिस्सा प्राप्त हुँदै आएको छ।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा यी तीन प्रिमियम उत्पादनबाट कम्पनीले कुल आम्दानीको करिब ९१ प्रतिशत हिस्सा रहेको छ। पछिल्ला तीन वर्षदेखि कम्पनीको कुल आम्दानीमा प्रमुख दुई उत्पादन ‘ओल्ड दरबार’ ह्विस्की र ‘८८४८’ भोड्काको योगदान ९० प्रतिशतभन्दा माथि रहँदै आएको छ। इक्राले यती डिस्टिलरीलाई नेपालको मदिरा उद्योगका ठूला खेलाडीमध्ये एकका रूपमा मूल्यांकन गरेको छ। ‘ओल्ड दरबार’ ह्विस्की र ‘८८४८’ भोड्काले आ–आफ्नो बजार खण्डमा बलियो बजार हिस्सा र ब्रान्ड पहिचान बनाएका कारण आम्दानी केन्द्रित भए पनि हालसम्म कम्पनीको वित्तीय अवस्थामा सकारात्मक योगदान पुगेको इक्राको निष्कर्ष छ।
तर एउटै वा सीमित ब्रान्डमा अत्यधिक निर्भरता कम्पनीका लागि व्यवसायिक जोखिमसमेत बनेको छ। मदिरा बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा प्रमुख उत्पादनको बिक्रीमा कमी आएमा त्यसको प्रत्यक्ष असर कम्पनीको आम्दानी, नाफा र समग्र वित्तीय प्रोफाइलमा पर्न सक्ने इक्राले औंल्याएको छ।
आम्दानी घट्दा पनि नाफा मार्जिन सुधार
यती डिस्टिलरीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०२५ मा केही बढे पनि आर्थिक वर्ष २०२६ मा सामान्य घटेको छ। इक्राका अनुसार आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ९१ करोड ८० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२६ मा ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। तर आम्दानीमा सामान्य कमी आए पनि कम्पनीको सञ्चालन नाफा मार्जिनमा उल्लेख्य सुधार भएको छ। आर्थिक वर्ष २०२४ मा करिब २२.२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा २८.१ प्रतिशत र आर्थिक वर्ष २०२६ मा २९.८ प्रतिशत पुगेको छ। इक्राले आर्थिक वर्ष २०२५ को सुधारमा उत्पादनको मूल्य पुनर्निर्धारणले समेत सहयोग गरेको जनाएको छ।
यसले कम्पनीको आम्दानी वृद्धि कमजोर भए पनि लागत तथा मूल्य व्यवस्थापनबाट सञ्चालन तहको नाफा क्षमता सुधार भएको देखाउँछ। आर्थिक वर्ष २०२६ मा सञ्चालन आम्दानी करिब ५ अर्ब ८५ करोड रुपैयाँ रहँदा सञ्चालन नाफा मार्जिन करिब ३० प्रतिशत पुग्नु कम्पनीको वित्तीय प्रोफाइलका लागि सकारात्मक पक्ष देखिएको छ।
ऋण दायित्व घट्यो, कर्जा तिर्ने क्षमतामा सुधार
कम्पनीको ऋण संरचनामा पछिल्ला वर्षमा उल्लेख्य सुधार देखिएको छ। कुल ऋण तथा मूर्त खुद सम्पत्तिको अनुपात आर्थिक वर्ष २०२४ मा १.४ गुणा रहेकोमा आर्थिक वर्ष २०२५ मा ०.७ गुणा हुँदै आर्थिक वर्ष २०२६ मा ०.६ गुणामा झरेको छ। त्यस्तै, कुल ऋण तथा सञ्चालन नाफा (OPBDITA) को अनुपात आर्थिक वर्ष २०२६ मा ०.८ गुणा रहेको छ। यसको अर्थ कम्पनीको सञ्चालन नाफाको तुलनामा कुल ऋणको भार तुलनात्मक रूपमा कम रहेको देखिन्छ। कम्पनीको ऋण सेवा कभरेज अनुपात (DSCR) ५.५ गुणा पुगेको छ। आर्थिक वर्ष २०२४ मा यस्तो अनुपात १.८ गुणा मात्रै रहेकोमा आर्थिक वर्ष २०२५ मा ४.७ गुणा हुँदै २०२६ मा ५.५ गुणा पुगेको हो। यसले कम्पनीको ऋणको साँवा–ब्याज भुक्तानी गर्ने क्षमता पछिल्ला वर्षमा उल्लेख्य रूपमा बलियो भएको देखाउँछ। कम्पनीको ब्याज भुक्तानी क्षमता पनि बलियो देखिएको छ। आर्थिक वर्ष २०२६ मा ब्याज कभरेज अनुपात १४.९ गुणा पुगेको छ, जुन आर्थिक वर्ष २०२४ को ४.१ गुणाको तुलनामा निकै सुधार हो।
ऋणले घटायो लाभांश क्षमता
इक्राका अनुसार जुलाई २०२६ को मध्यसम्म कम्पनीको गियरिङ करिब ०.६ गुणामा झरेको छ। दुई वर्षअघि यही अनुपात करिब १.४ गुणा थियो। ऋण कभरेज सूचकमा सुधार आउनुमा ऋणको भार घट्नुका साथै ऋणको ब्याजदरमा आएको कमीले पनि सहयोग गरेको छ। कम्पनीले पछिल्ला वर्षमा लाभांश वितरणसमेत घटाएको छ।आर्थिक वर्ष २०२४ र २०२५ को नाफाको औसत करिब ४३ प्रतिशत लाभांशका रूपमा वितरण गरिएको थियो भने आर्थिक वर्ष २०२३ को नाफाको तुलनामा लाभांश वितरण अनुपात १६८ प्रतिशत थियो। लाभांश वितरणमा आएको कमीले कम्पनीभित्र नगद तथा तरलता कायम राख्न सहयोग पुगेको इक्राको मूल्यांकन छ। जुलाई २०२६ को मध्यसम्म कम्पनीको ऋण उपयोग क्षमतामा करिब १२ प्रतिशतको तरलता रहेको थियो।
कार्यशील पुँजीमा उच्च दबाब
कम्पनीको वित्तीय प्रोफाइल बलियो देखिए पनि कार्यशील पुँजीको आवश्यकता भने उच्च छ। आर्थिक वर्ष २०२६ मा खुद कार्यशील पुँजी तथा सञ्चालन आम्दानीको अनुपात ३१ प्रतिशत रहेको छ।यसको मुख्य कारण उच्च मौज्दात तथा ऋणी रकम हो। विशेषगरी पुरानो ह्विस्की उत्पादनका लागि लामो समयसम्म मौज्दात राख्नुपर्ने भएकाले कम्पनीको पुँजी लामो समयसम्म स्टकमा बाँधिन्छ। त्यस्तै, तयार उत्पादनमा लाग्ने करसमेत समावेश हुने कुल आम्दानीमा क्रेडिट अवधि लागू हुने भएकाले ग्राहकबाट उठाउनुपर्ने रकम पनि उच्च रहन्छ।
आर्थिक वर्ष २०२५ मा कार्यशील पुँजी/सञ्चालन आम्दानी अनुपात २५ प्रतिशत रहेकोमा २०२६ मा बढेर ३१ प्रतिशत पुगेको तथ्यले आम्दानीको तुलनामा व्यवसाय सञ्चालनका लागि थप पुँजी आवश्यक परेको देखाउँछ। यद्यपि कम्पनीले आपूर्तिकर्ताबाट पर्याप्त ऋण सुविधा पाउँदै आएको छ। जुलाई २०२६ को मध्यसम्म कुल बाह्य दायित्व तथा कुल खुद सम्पत्तिको अनुपात २.७ गुणा रहेको थियो। आपूर्तिकर्ताको क्रेडिट अवधि कडा भएमा कम्पनीलाई थप बाह्य कार्यशील पुँजी आवश्यक पर्न सक्ने र त्यसले ऋण कभरेज सूचकमा दबाब पार्न सक्ने इक्राले जनाएको छ।
विदेशी विनिमय जोखिम अर्को चुनौती
कम्पनीको अर्को प्रमुख जोखिम विदेशी विनिमयसँग जोडिएको छ। यती डिस्टिलरीले कच्चा पदार्थ आयात गर्दा तुलनात्मक रूपमा लामो अवधिका तथा हेज नगरिएका उसन्स एलसी प्रयोग गर्दै आएको छ। यस्ता एलसी सामान्यतः युरोमा आधारित हुने भएकाले विनिमय दरमा हुने उतारचढावले कम्पनीको लागत तथा नगद प्रवाहमा असर पार्न सक्छ। इक्राका अनुसार पछिल्ला वर्षमा विदेशी विनिमय घाटा उल्लेख्य रूपमा बढेको छ र आर्थिक वर्ष २०२६ मा यस्तो घाटा कम्पनीको आम्दानीको करिब ६ प्रतिशत बराबर पुगेको छ। कम्पनीले यस्तो विदेशी विनिमय घाटा नाफा विवरणमा समेटिसकेको भए पनि पुराना एलसीको भुक्तानीका क्रममा वास्तविक नगद बहिर्गमन हुँदा कम्पनीको तरलतामा थप दबाब पर्न सक्ने र ऋणमा निर्भरता बढ्न सक्ने जोखिम रहेको छ।
कर र नियामकीय जोखिम कायमै
नेपालको मदिरा उद्योग उच्च कर तथा नियामकीय नियन्त्रणमा रहेको क्षेत्र हो। तयार मदिरामा उच्च आयात शुल्क कायम रहेकाले स्वदेशी उत्पादकले आयातित ब्रान्डसँग प्रतिस्पर्धा गर्दा भन्सार संरक्षण पाएका छन्। साथै, उद्योगमा प्रवेशका लागि तुलनात्मक रूपमा उच्च अवरोधले पनि स्थापित कम्पनीलाई फाइदा पुर्याएको छ। तर, आयात शुल्क घटेमा वा हटेमा कम्पनीको आम्दानी, नाफा मार्जिन र ऋण कभरेजमा उल्लेख्य असर पर्न सक्ने इक्राको मूल्यांकन छ। अर्कोतर्फ, मदिरामा लाग्ने अन्तःशुल्क वर्षेनी बढ्दै गएकाले कम्पनीले बढ्दो लागत उपभोक्तामा हस्तान्तरण गर्न नसकेमा नाफा मार्जिनमा दबाब आउन सक्छ। मदिराको बिक्री, प्रवर्द्धन तथा वितरणमा नियामक निकायले थप प्रतिबन्ध लगाएमा पनि कम्पनीको व्यवसाय प्रभावित हुन सक्ने जोखिम रहेको इक्राले जनाएको छ।
ऋण दायित्व कति ?
इक्राले यती डिस्टिलरीको बैंक ऋण सीमा कुल ५ अर्ब ७२ करोड ४० लाख रुपैयाँ रहेको उल्लेख गरेको छ। यसमध्ये दीर्घकालीन ऋण सीमा ७२ करोड ९९ लाख ७० हजार रुपैयाँ र अल्पकालीन ऋण सीमा ४ अर्ब ९९ करोड ४० लाख ५० हजार रुपैयाँ रहेको छ।अल्पकालीन ऋणतर्फ १ अर्ब ४० करोड रुपैयाँ कोषमा आधारित सुविधा तथा ३ अर्ब ५९ करोड ४० लाख ५० हजार रुपैयाँ गैर–कोषमा आधारित सुविधा रहेको छ। गैर–कोषमा आधारित सुविधामा मुख्यतः लेटर अफ क्रेडिट तथा बैंक ग्यारेन्टी रहेका छन्। यसले कम्पनीको ऋण संरचना दीर्घकालीन ऋणभन्दा ठूलो रूपमा अल्पकालीन तथा व्यापारिक वित्तमा आधारित रहेको देखाउँछ। यस्तो संरचना मदिरा उत्पादनको उच्च कार्यशील पुँजी आवश्यकतासँग सम्बन्धित भए पनि आपूर्तिकर्ता क्रेडिट वा एलसीको भुक्तानी अवधि कडा भएमा कम्पनीको तरलतामा दबाब पर्न सक्ने जोखिम रहन्छ।
समग्रमा वित्तीय अवस्था बलियो, तर आम्दानी केन्द्रित जोखिम कायमै
समग्रमा हेर्दा यती डिस्टिलरीको वित्तीय अवस्था पछिल्ला वर्षमा सुधारिएको देखिन्छ। आम्दानी आर्थिक वर्ष २०२६ मा सामान्य घटे पनि सञ्चालन नाफा मार्जिन करिब ३० प्रतिशत पुगेको, कुल ऋण/मूर्त खुद सम्पत्ति अनुपात ०.६ गुणामा झरेको, DSCR ५.५ गुणा पुगेको र ब्याज कभरेज १४.९ गुणा रहेकोले कम्पनीको ऋण वहन तथा सेवा गर्ने क्षमता बलियो बनेको देखिन्छ। तर कम्पनीको आम्दानी तीन प्रमुख ब्रान्डमा अत्यधिक केन्द्रित हुनु, कार्यशील पुँजीको आवश्यकता उच्च हुनु र विदेशी मुद्रामा आधारित दीर्घकालीन एलसीका कारण विदेशी विनिमय जोखिम रहनु प्रमुख चुनौती हुन्।
इक्रा नेपालका अनुसार, त्यसैले आगामी दिनमा ‘ओल्ड दरबार’, ‘ओल्ड दरबार चिम्नी’ र ‘८८४८’ ब्रान्डको बिक्री कायम राख्नुका साथै आम्दानीको आधार फराकिलो बनाउने, कार्यशील पुँजी व्यवस्थापन सुधार गर्ने, विदेशी मुद्रा दायित्व नियन्त्रण गर्ने र उच्च ऋण सेवा क्षमतालाई निरन्तरता दिने क्षमता कम्पनीको वित्तीय स्थायित्वका लागि निर्णायक हुने देखिन्छ।
















प्रतिक्रिया दिनुहोस्