Advertisement
Advertisement
Corporate Samachar
२७ भाद्र २०८३, शनिबार
Advertisement

सोमबारदेखि दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

सोमबारदेखि दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल
विज्ञापन
Advertisement

काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थ्रीजी सेवा बन्द गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले नयाँ प्रविधिमा स्तरोन्नति गर्ने योजनाअनुसार भाद्र १ गतेदेखि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका २०० भन्दा बढी मोबाइल टावरबाट थ्रीजी सेवा बन्द गर्न लागेको हो ।

एनसेलका अनुसार गण्डकी प्रदेशका गोरखा र लमजुङ, लुम्बिनी प्रदेशका बर्दिया र पाल्पा तथा सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न स्थानमा थ्रीजी सेवा बन्द हुनेछ । थ्रीजी सेवा बन्द भएपछि उक्त नेटवर्कमा प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी सेवाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ ।

एनसेलले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसहित फोरजी नेटवर्कलाई थप बलियो बनाउने उद्देश्यले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार फोरजी नेटवर्क देशको करिब ९५ प्रतिशत जनसंख्यासम्म विस्तार भइसकेको छ । भाद्र १ गतेदेखि गोरखाका गोरखा, आरुघाट, शहीद लखन, भीमसेन थापा र धार्चेलगायतका स्थानीय तहमा थ्रीजी सेवा बन्द हुनेछ । त्यस्तै लमजुङका मस्र्याङ्दी, दूधपोखरी, दोर्दी, राइनास र बेँसीशहरलगायतका स्थानमा पनि सेवा बन्द हुने कम्पनीले जनाएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत बर्दियाका राजापुर, ठाकुरबाबा, मधुवन, गुलरिया र गेरुवा तथा पाल्पाका तानसेन, रामपुर, तिनाउ, रम्भा र पूर्वखोलालगायतका स्थानमा थ्रीजी सेवा बन्द हुनेछ। सुदूरपश्चिम प्रदेशको कैलालीमा टीकापुर, लम्कीचुहा, भजनी, जानकी र जोशीपुरलगायतका स्थानीय तहमा पनि थ्रीजी सेवा बन्द गर्ने एनसेलको योजना छ ।

फोरजीमा अपग्रेड हुन आग्रह

थ्रीजी सेवा बन्द भएसँगै सम्बन्धित क्षेत्रका ग्राहकलाई फोरजीमा अपग्रेड हुन कम्पनीले आग्रह गरेको छ । फोरजी सेवा प्रयोग गर्न फोरजी सपोर्ट गर्ने मोबाइल फोन, फोरजी सिमकार्ड वा ई–सिम र फोरजी नेटवर्क उपलब्ध हुनुपर्नेछ ।भोल्टे सेवा प्रयोग गर्न फोरजी चल्ने मोबाइल र सिम प्रयोग गर्ने ग्राहकले मोबाइलको सेटिङमा भोल्टे विकल्प अन गर्नुपर्ने एनसेलले जनाएको छ । ग्राहकले १२३८ ११३ डायल गरेर पनि भोल्टे सेवा सक्रिय गर्न सक्नेछन् । भोल्टे प्रविधिबाट उच्च गुणस्तरको भ्वाइस कल तथा फोन सम्पर्क छिटो स्थापित हुने कम्पनीको दाबी छ । ग्राहकले भ्वाइस कलसँगै फोरजी डेटा सेवा पनि उही शुल्कमा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर सुधार गर्ने योजनाअनुसार कम्पनीले थ्रीजी सेवा चरणबद्ध रूपमा बन्द गरिरहेको छ । कम्पनीका अनुसार स्मार्टफोन तथा फोरजी प्रयोगकर्ताको संख्या बढ्दै गए पनि अझै ठूलो संख्यामा ग्राहक थ्रीजीमै निर्भर छन् । फोरजी चल्ने सिम र मोबाइल प्रयोग गरिरहेका कतिपय ग्राहकले समेत मोबाइल सेटिङका कारण थ्रीजी नेटवर्क प्रयोग गरिरहेको कम्पनीको भनाइ छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit