काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
नाडाले विपद्को यस कठिन घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यसँग काँधमा काँध मिलाएर नागरिकको कर्तव्य पूरा गर्न नाडा प्रतिबद्ध रहेको जनाएको छ । नाडाले तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । उनले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिलसमेत गरेका छन् ।
यसैबीच, काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाडा अटो शो २०२६ भने निरन्तर सञ्चालनमा रहने नाडाले जनाएको छ। आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले अटो शो पूर्वनिर्धारित कार्यक्रमअनुसार सञ्चालन हुने नाडाले स्पष्ट पारेको हो । नाडाले विपद्को सामना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्न तथा आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन आग्रह गरेको छ ।















प्रतिक्रिया दिनुहोस्