काठमाडौं । भोटेकोशी बाढीमा परेर मृत्यु भएका व्यक्तिको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले घटनामा संलग्न रहेको आरोपमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवनमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले नदीमा डुबिरहेको शवलाई लट्ठीले घोचेर पल्टाउँदै कानमा रहेको गहना निकाल्ने प्रयास गरेका थिए । सोही घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी थालेको थियो । भिडियो भाइरल भएपछि घटनाको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । प्रहरीले दुवै जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्