काठमाडौं । सरकारले बाढी, पहिरो, आगलागी लगायतका प्राकृतिक विपद्का समयमा उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च वृद्धि गर्ने निर्णय गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्का बेला अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायका जनशक्तिको सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।
सरकारले विपद्का समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहतमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिको योगदानको कदर गर्दै उनीहरूलाई प्रदान गरिने सुविधा बढाउने निर्णय गरेको हो। विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउन आवश्यक भएकाले सेवा सुविधा परिमार्जन गरिएको प्राधिकरणले जनाएको छ।
कार्यकारी समितिको निर्णयअनुसार सम्बन्धित सुरक्षा निकायले सेवा सुविधा वृद्धि गर्नुपर्ने विषयमा तालुकदार मन्त्रालयमा लेखिपठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गर्नेछ। यो निर्णय कार्यान्वयनमा आएपछि बाढी, पहिरो, आगलागी तथा अन्य विपद्का समयमा उद्धार, राहत र व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले थप भत्ता तथा दैनिक खाजा खर्च पाउनेछन्।














प्रतिक्रिया दिनुहोस्