Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

बाढी प्रभावित क्षेत्रका नागरिकलाई अर्थमन्त्रीको ढाडस -‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिँदैनौं’

बाढी प्रभावित क्षेत्रका नागरिकलाई अर्थमन्त्रीको ढाडस -‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिँदैनौं’
विज्ञापन
Advertisement

नुवाकोट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत, उपचार र पुनर्स्थापनाका लागि सरकारले स्रोतसाधनको अभाव हुन नदिने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

शनिबार बिहान नुवाकोटको सदरमुकाम विदुर पुगेका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्टको निरीक्षण गरी उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिएका हुन्। सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीमा हराइरहेका नागरिकको जीवितै उद्धारलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। उनका अनुसार विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई अहिले उच्च प्राथमिकतामा राखिएको छ।

उद्धारसँगै विस्थापित नागरिकका लागि अस्थायी बसोबास, खाद्यान्न तथा अन्य राहत सामग्री वितरणको काम पनि भइरहेको उनले जानकारी दिए। बाढी प्रभावित क्षेत्रमा तत्काल बेलिब्रिज आवश्यक रहेको विषयमा पनि सेनाले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो। अर्थमन्त्री वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनाका लागि सरकारबाट पूर्ण सहयोग रहने भन्दै स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाए। उनले कुनै पनि सहयोग आवश्यक परे समयमै जानकारी गराउन नेपाली सेनालाई आग्रह गरे। त्यसपछि उनले नेपाली सेनाको गौथली ब्यारेकस्थित हवाई उद्धार केन्द्र तथा राहत सामग्री सङ्कलन र वितरण केन्द्रको निरीक्षण गरे। त्यहाँ उनले आफन्तजनको खोजीका लागि पुगेका पीडित परिवारसँग भेट गरी उनीहरूको समस्या सुनेको उनको सचिवालयले जनाएको छ।

नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा परिवारका सदस्य फसेको भन्दै आफन्तहरूले उद्धारका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा वाग्लेले सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै नेपाली सेना तथा सुरक्षाकर्मीको उद्धार प्रयासमा विश्वास गर्न परिवारजनलाई आग्रह गरे। अर्थमन्त्री वाग्लेले बाढीबाट ध्वस्त ढुङ्गे बजार र ऐतिहासिक देवीघाट बजारको समेत स्थलगत निरीक्षण गरे। उनले पीडित परिवारसँग भेट गरी क्षतिको अवस्था, तत्काल आवश्यक सहयोग र सरकारले गर्नुपर्ने कामबारे जानकारी लिए। देवीघाटमा स्थानीयसँग भेट गर्दै उनले हराएका आफन्तको खोजी, राहत, उपचार तथा पुनर्स्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

यसैगरी, उनले गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुलको निरीक्षण गरे। तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र तथा चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर उनले देवीघाटबाट उद्धार गरिएका स्थानीयसँग भेट गरी स्वास्थ्य अवस्था र आवश्यकताबारे जानकारी लिएका थिए। यसैगरी, बाढीमा बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयलाई थप स्वास्थ्य लाभको कामना गर्दै अर्थमन्त्रीले उनीहरूको उचित पुनर्स्थापना गरिने बताए।
यसपछि अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतासँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाका विषयमा छलफल गरेका छन्।

जिल्ला समन्वय समितिको हलमा आयोजित छलफलमा अर्थमन्त्री वाग्लेले केन्द्र सरकारबाट कुनै पनि प्रकारको स्रोतको अभाव हुन नदिने स्पष्ट पारे। दिनभरको उद्धार, राहत तथा पुनर्स्थापनाको अवस्थाबारे अन्तिम सुरक्षा ब्रिफिङ लिन उनी नेपाली सेनाको विदुर कमाण्ड सेन्टर पुगेको मन्त्रालयले जनाएको छ। त्यहाँ गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री विक्रम तिमल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीहरूले विपद्पछिको उद्धार तथा राहत कार्यबारे जानकारी गराएका थिए।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit