काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा उद्धारका लागि गरिएको ड्रिलिङमा आंशिक सफलता प्राप्त भएको छ । ड्रिलिङका क्रममा सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान भएपछि सुरुङभित्र क्यामेरा र अक्सिजन पठाउने प्रयास सुरु गरिएको छ ।
घटनास्थलबाट प्राप्त जानकारीअनुसार ड्रिलिङमार्फत सुरुङसम्म पुग्ने प्वाल बनेपछि त्यसबाट क्यामेरा पठाएर भित्रको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ । सम्भावित रूपमा सुरुङभित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्याउन पनि सोही प्वाल प्रयोग गर्ने तयारी गरिएको छ । बिहानैदेखि प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले सुरुङमा थुप्रिएको लेदो र माटो हटाउँदै ड्रिलिङ गरिरहेको थियो । सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान हुनुलाई उद्धार कार्यमा महत्वपूर्ण प्रगतिको रूपमा लिइएको छ ।
उद्धार टोलीले ड्रिलिङबाट बनाइएको प्वालमार्फत अक्सिजनसँगै आवश्यक उपकरण सुरुङभित्र पठाउने तयारी गरिरहेको छ । साथै, सुरुङमा थुप्रिएको लेदो हटाएर उद्धारका लागि थप बाटो खोल्ने काम पनि जारी छ । प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको भए पनि प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्