Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

भोटेकोशी बाढीः सुरुङभित्र हराइरहेकाको खोजी किन सुस्त ?

भोटेकोशी बाढीः सुरुङभित्र हराइरहेकाको खोजी किन सुस्त ?
विज्ञापन
Advertisement

हिलो, पानी र लेदोले थुनिएका सुरुङ, जोखिमपूर्ण संरचना र सीमित पहुँचबीच उद्धार कठिन बन्दै

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बाहिरी संसार तहसनहस बनाएसँगै त्यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङहरू अहिले बेपत्ताको खोजीका लागि सबैभन्दा कठिन र जोखिमपूर्ण क्षेत्र बनेका छन्।

बाढीको वेगसँगै सुरुङभित्र पसेको पानी, हिलो, ढुंगा र लेदोले बाटो पुरिएपछि हराइरहेकाहरूको खोजी अभियान अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद तथा सुरुङ विशेषज्ञ श्रीराम प्रसाद न्यौपाने सुरुङ मार्गको उध्दार सबैभन्दा कठिन बन्न पुगेको बताउँछन् ।

नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले पछिल्ला तीन दिनदेखि सुरुङलाई केन्द्रित गरेर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। तर सुरुङभित्रको अवस्था सामान्य खोजी अभियानका लागि सहज छैन। कतै पानी जमेको छ, कतै हिलो र लेदोले बाटो छोपेको छ भने कतिपय स्थानमा सुरुङको संरचना नै जोखिमपूर्ण देखिएको छ। यही कारण उद्धार टोलीले एकैपटक लामो दूरीसम्म प्रवेश गरेर खोजी गर्न सकिरहेको छैन।

सुरुङभित्र हराइरहेकाहरू कहाँ छन् ? र उनीहरूसम्म पुग्न किन यति कठिन भइरहेको छ ?

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली–३ ‘बी’को सुरुङमा विज्ञसहितको टोली परिचालन गरी खोजी भइरहेको छ।

चिलिमे हाइड्रोको सुरुङमा नेपाली तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोली करिब १०० मिटरसम्म प्रवेश गरेर खोजीमा जुटेको छ। सुरुङको भित्री भाग हिलोमाटोले पुरिएको अवस्थामा भेटिएपछि त्यसलाई हटाउँदै अघि बढ्नुपर्ने अवस्था छ। सो क्रममा दुई शव फेला पारेर बाहिर निकालिएको सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली–१ को सुरुङमा भने उद्धार टोली करिब ३०० मिटरसम्म प्रवेश गर्न सफल भएको छ। त्यहाँबाट एउटा शव निकालिएको छ। लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा पनि खोज तथा उद्धार कार्य जारी छ। तर सुरुङको दूरी बढ्दै जाँदा चुनौती पनि थपिँदै गएको छ।

बाढीले सुरुङभित्र बगाएर ल्याएको लेदो, ढुंगा र अन्य सामग्री हटाउन समय लागिरहेको छ। पानी र हिलो सफा नगरी थप भित्र पस्न सकिने अवस्था छैन। सुरुङको कुन भाग सुरक्षित छ र कुन भागमा संरचना कमजोर भएको हुन सक्छ भन्ने यकिन नगरी अगाडि बढ्दा उद्धार टोली स्वयं जोखिममा पर्न सक्ने सासंद न्याैपाने बताउँछन् ।

सुरुङभित्रको अवस्थाको वास्तविक मूल्याङ्कन गर्न प्राविधिक विज्ञ, सुरुङ इन्जिनियर, भारी उपकरण, पानी निकाल्ने प्रणाली, अक्सिजन तथा हावा प्रवाहको व्यवस्था र सुरक्षित रूपमा भित्र पस्ने वैकल्पिक मार्ग आवश्यक देखिएको छ।

सुरुङभित्रको पानी, हिलो र लेदो हटाउने काम आफैँमा लामो प्रक्रिया हो। त्यसपछि मात्रै भित्र थप खोजी गर्न सकिने अवस्था बन्ने भएकाले प्रत्येक मिटर अगाडि बढ्न पनि समय लागिरहेको छ।

त्रिशूली–३ ‘ए’मा अर्को बाटो खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’को सुरुङमा उद्धारका लागि वैकल्पिक बाटो खोल्ने प्रयास भइरहेको छ। आज बिहान करिब २ बजे विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। दुईवटा एक्स्काभेटरमार्फत करिब १० मिटर मुनि प्वाल बनाउने तथा सुरुङभित्र जम्मा भएको पानी, हिलो र लेदो हटाउने काम जारी छ।

यसले उद्धार अभियानमा अर्को चुनौती देखाउँछ । बन्द भएको सुरुङको मुख्य प्रवेशद्वारबाट मात्रै खोजी सम्भव नभए वैकल्पिक प्रवेशमार्ग बनाउनुपर्ने अवस्था।

तर पहाडभित्र सुरुङ बनाउनु र बाढीपछि क्षतिग्रस्त संरचनामा उद्धारका लागि नयाँ बाटो खोल्नु एउटै कुरा होइन। जमिनको अवस्था, माथिल्लो भागको स्थिरता, सुरुङको वास्तविक अवस्थिति र भित्रको जोखिमको मूल्याङ्कन गर्दै काम गर्नुपर्ने भएकाले गति बढाउन खोज्दा जोखिम पनि बढ्न सक्छ।

किन अपेक्षाअनुसार प्रगति हुन सकेन ?

उद्धार टोली पुगेको छ, खोजी भइरहेको छ, तर परिणाम किन ढिलो भइरहेको छ पीडितहरू अहिले राज्यलाइ यही प्रश्न साेधिरहेका छन् :

यसको प्रमुख कारण सुरुङभित्रको भौतिक अवस्था हो। बाढीले सामान्य अवस्थामा मानिस हिँड्न मिल्ने सुरुङलाई पानी, हिलो, लेदो र ढुंगाले भरिदिएको छ। कतिपय ठाउँमा बाटो साँघुरिएको वा अवरुद्ध भएको हुन सक्छ। त्यसलाई हटाउन भारी उपकरण आवश्यक पर्छ। तर भारी उपकरणलाई सुरुङभित्रै लगेर सञ्चालन गर्न सकिने अवस्था सधैँ हुँदैन।

अर्कोतर्फ, सुरुङभित्र प्रवेश गर्ने टोलीका लागि हावा, प्रकाश, पानीको बहाव, संरचनाको स्थिरता र आकस्मिक जोखिम सबैभन्दा ठूलो चुनौती हुन्। एउटा स्थान सफा गरेपछि अर्को स्थानमा नयाँ अवरोध भेटिन सक्छ।

यसले गर्दा उद्धारको गति बाहिरबाट हेर्दा सुस्त देखिए पनि टोलीले प्रत्येक चरण सुरक्षित बनाएर मात्र अघि बढ्नुपर्ने अवस्था छ।

खोजी सुरुङमा मात्रै सीमित छैन

सेनाले जलविद्युत् आयोजनाका सुरुङसँगै बाढी प्रभावित जङ्गल, डाँडा, खोला र बस्ती क्षेत्रमा पनि पैदल गस्ती जारी राखेको जनाएको छ। स्याफ्रुबेँसी क्षेत्रमा राहत तथा रासन वितरणसँगै लाङटाङ हाइड्रो क्षेत्रको निरीक्षण गरिएको छ।

रसुवाको धुन्चे र नुवाकोटको त्रिशूलीमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्रबाट हालसम्म दुई हजार ६३२ जनाले स्वास्थ्य सेवा लिएका छन्।

टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका प्रभावित क्षेत्रमा आठ हजार ९०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन्। उनीहरू घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन र आपत्कालीन उपचारमा खटिएका छन्।

उद्धारमा ठूलो जनशक्ति, तर अझै चाहिएको छ विशेषज्ञता र उपकरण

भदौ १० देखि हालसम्म सेनाले ३३८ विदेशी नागरिकसहित तीन हजार ५९६ जनाको उद्धार गरेको जनाएको छ। प्रभावित क्षेत्रमा करिब २३ हजार १९४ किलो राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको छ।

आफन्तको प्रतीक्षा अझै सकिएको छैन

बाहिर उद्धार टोली निरन्तर खटिइरहेको छ। सुरुङको मुखमा उपकरण चलिरहेका छन्। कतै हिलो हटाइँदैछ, कतै पानी निकालिँदैछ, कतै नयाँ बाटो खोलिँदैछ। प्रत्येक शव भेटिँदा एउटा परिवारको प्रतीक्षा पीडादायी सत्यमा बदलिन्छ, तर अर्को परिवारको प्रतीक्षा अझै जारी छ।

भोटेकोशी बाढीपछि सुरुङभित्र हराइरहेकाहरूको खोजी अब केवल एउटा उद्धार अभियान रहेन। यो समयसँगको संघर्ष, कठिन भूगोलसँगको लडाइँ र सीमित पहुँचबीच प्रविधि तथा विशेषज्ञताको परीक्षा बनेको छ।

सुरुङको अँध्यारोभित्र कति मानिस अझै छन् भन्ने यकिन भइसकेको छैन। त्यसैले उद्धार टोलीका लागि अहिले सबैभन्दा ठूलो चुनौती एउटै छ हराएका मान्छेको आफन्त सकुसल फिर्ता गराउनु ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit