जनकपुरधाम। रामायण परम्परासँग जोडिएका नेपाल र भारतका दुई ऐतिहासिक धार्मिक सहर जनकपुरधाम र अयोध्याबीच सीधा रेल सम्पर्क स्थापित भएको छ। भारतको अयोध्याबाट सोमबार प्रस्थान गरेको सरयू–कमला एक्सप्रेस मंगलबार बिहान जनकपुरधाम आइपुगेको हो ।
रेलमार्गबाट माता सीताको जन्मभूमिका रूपमा परिचित जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्या जोडिएसँगै दुई देशबीच धार्मिक पर्यटन र सीमापार यातायात सम्पर्क विस्तारको नयाँ ढोका खुलेको छ । जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेका यात्रु तथा भारतीय प्रतिनिधिमण्डललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री रामजी यादवले स्वागत गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेका थिए। अयोध्यामा आयोजित विशेष समारोहबाट रेललाई हरियो झण्डा देखाएर उद्घाटन यात्राका लागि बिदाइ गरिएको थियो । करिब ६०४ किलोमिटर दूरीको यो रेलले जनकपुरधामदेखि अयोध्या क्यान्टसम्मको यात्रा करिब १९ घण्टामा पूरा गरेको छ। १७ वटा डिब्बा रहेको रेलमा शयनयान, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन् ।
पुरानै संरचनाबाट सेवा विस्तार
यस सेवाको आर्थिक पक्ष पनि महत्त्वपूर्ण छ। अयोध्या–जनकपुरधाम रेल सञ्चालनका लागि छुट्टै ६०४ किलोमिटर रेलमार्ग निर्माण गरिएको होइन । भारत र नेपालमा पहिलेदेखि सञ्चालनमा रहेका रेलमार्ग प्रयोग गरेर सेवा विस्तार गरिएको हो। कुल दूरीमध्ये करिब २८ किलोमिटर मात्रै नेपालको भूभागमा पर्छ भने बाँकी भारतमा पर्छ । रेल सञ्चालन तथा व्यवस्थापन प्रारम्भिक चरणमा भारतीय रेल्वेले गर्नेछ । नेपालतर्फको जनकपुर–जयनगर रेलमार्ग भने भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो। जयनगर–जनकपुर–बर्दिबास ६९ किलोमिटर रेलमार्ग निर्माणको लागत करिब १० अर्ब रुपैयाँ रहेको थियो । यद्यपि यो रकम सरयू–कमला एक्सप्रेस सञ्चालनको लागत नभई नेपालको रेल पूर्वाधार निर्माणमा भएको लगानी हिस्सा हो।
सातामा एकपटक सञ्चालन, १० स्थानमा व्यावसायिक बिसौनी
भारतीय रेल्वेको निर्धारित समयतालिकाअनुसार नियमित सेवा नोभेम्बर २८ देखि सुरु हुनेछ। रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १स्१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८स्१० बजे अयोध्या क्यान्ट पुग्नेछ। फर्किने रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५स्५० बजे अयोध्याबाट छुटेर मंगलबार दिउँसो १२स्४० बजे जनकपुरधाम आइपुग्नेछ । रेलले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ । यस सेवाबाट तीर्थयात्रासँगै सीमावर्ती क्षेत्रको व्यापार, होटल, यातायात र आतिथ्य व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । विशेषगरी विवाहपञ्चमी, रामनवमी र जानकी नवमीजस्ता पर्वमा नेपाल र भारतबाट आवतजावत गर्ने ठूलो संख्याका तीर्थयात्रीलाई प्रत्यक्ष लाभ पुग्ने छ। यसले धार्मिक पर्यटनसँगै दुई देशबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्