काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित विपद्सँग मुलुक जुधिरहेको बताएका छन् । उनले संकटको यस घडीमा नेतृत्वले शोकमा डुबेर बस्ने नभई उद्धार, राहत र पुनःस्थापनामा जुट्नुपर्ने हुँदा सोही अनुसार कार्य गरिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको बताए । उनले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबारे सदनलाई जानकारी गराएका हुन् । ‘मन भक्कानिए पनि एकआपसमा बिलौना गर्ने समय छैन,’ वालेनले भने, ‘संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं ।’
प्रधानमन्त्री शाहले अहिले शरीर थकित भयो भन्दै विश्राम लिने अवस्था नरहेको पनि बताए । उनका अनुसार विपद्मा परेकाको खोज तथा उद्धारलाई निरन्तरता दिँदै राहत तथा पुनःस्थापनाको कामलाई तीव्रता दिनुपर्ने अवस्था छ । ‘हामी विपद्सँग लडिरहेका छौं । यो विपत्ति देशकै छातीमा बज्रपात हो।’
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी र बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीले धादिङ, चितवन र गोरखालगायत त्रिशूली नदी तटीय क्षेत्रलाई समेत प्रभावित बनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार बाढीमा परी हालसम्म १ हजार ११४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाका ४१, नुवाकोटका १५५, धादिङका ५९, चितवनका ३४८, गोरखाका ६६, तनहुँका ३८, नवलपरासी पूर्वका २१७ र नवलपरासी पश्चिमका १९० जना छन् ।
विपद्मा परी ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ भने २९२ जना घाइते भएका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । प्रधानमन्त्री शाहले विपद्को पीडा गहिरो भए पनि राज्यका सबै संयन्त्र उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको बताए । उनले संकटको सामना गर्न धैर्य र साहसका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।















प्रतिक्रिया दिनुहोस्