काठमाडौं। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजना तथा सबस्टेशनमा कार्यरत करिब ५० जना कर्मचारी तथा कामदार बाढीपछि सम्पर्कविहीन भएपछि उनीहरूको खोजी कार्य बुधबार पनि जारी रहेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा देवीघाट जलविद्युत केन्द्र, त्रिशूली जलविद्युत केन्द्र, माथिल्लो त्रिशूली–३ ‘ए’, रसुवा वितरण केन्द्र, त्रिशूली–३ ‘बी’ २२० केभी सबस्टेशन तथा चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा कार्यरत कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्।
प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार देवीघाट जलविद्युत केन्द्रमा कार्यरत एक सुरक्षागार्ड, त्रिशूली जलविद्युत केन्द्रमा एक कर्मचारी र दुई सुरक्षागार्ड तथा माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा कार्यरत ४२ कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्। यस्तै, रसुवा वितरण केन्द्रका एक कामदार र त्रिशूली–३ ‘बी’ २२० केभी सबस्टेशनका एक सुरक्षागार्ड पनि बेपत्ता छन्। चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा कार्यरत कर्मचारीको संख्या पनि प्राधिकरणले खोजी गरिरहेको सूचीमा राखेको छ।
प्राधिकरणका अनुसार जटिल भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच आवश्यक उपकरण तथा सामग्री प्रभावित क्षेत्रमा पुर्याएर खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। विपद्मा परेका कर्मचारी तथा कामदारको खोजी तथा उद्धारका लागि प्राधिकरणले आफ्ना उपलब्ध स्रोत–साधन अधिकतम परिचालन गरेको जनाएको छ। त्रिशूली जलविद्युत केन्द्र क्षेत्रमा ढुंगा, बालुवा र माटोलगायतका पदार्थ थुप्रिएपछि नदीको सतह पहिलेभन्दा निकै माथि पुगेको छ। पावर हाउस क्षेत्र र टनेलको मुख्य प्रवेशमार्गसमेत पुरिएको अवस्थामा उपकरण प्रयोग गरी टनेलमार्फत पावर हाउससम्म पुग्ने बाटो बनाउने काम भइरहेको प्राधिकरणले जनाएको छ।
खोजीका क्रममा ठूला ढुंगा भेटिएकाले ब्लास्टिङ गरी ढुंगा पन्छाउने कामसमेत भइरहेको छ। टनेलको मुख खोलाको सतहभन्दा तल रहेकाले टनेल तथा निर्माण गरिएको प्रवेशमार्गमा जम्मा भएको पानी पम्पिङ गरी बाहिर निकाल्ने काम पनि जारी छ ।















प्रतिक्रिया दिनुहोस्