काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकारले सञ्चालनमा ल्याएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा बुधबार दिउँसोसम्म ७ अर्ब ८८ लाख ५७ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त आर्थिक सहयोगबारे जानकारी गराएका हुन्। प्रधानमन्त्री शाहका अनुसार राहत कोषमा केहीबेरअघिसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। त्यसमध्ये मंगलबार मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।
निकासा गरिएको रकममध्ये ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ वटा स्थानीय तहमा पठाइसकिएको प्रधानमन्त्री शाहले बताए। उनका अनुसार कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलरसमेत जम्मा भएको छ। ‘केहीबेरअघिसम्म राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २ सय १७ रुपैयाँ जम्मा भएको छ। हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिएको थियो। त्यसमध्येबाट ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका गरी १५ वटा पालिकामा निकासा भइसकेको छ,’ प्रधानमन्त्री वालेनले भने ।
प्रधानमन्त्री शाहले विपद्को समयमा मित्रराष्ट्रहरूबाट टेलिफोन, पत्राचार तथा सामाजिक सञ्जालमार्फत सद्भावना सन्देश प्राप्त भइरहेको बताए। यस्तो सद्भावले विपत्तिविरुद्ध लड्न थप बल मिलेको उनको भनाइ छ। उनका अनुसार बाढी प्रभावित क्षेत्रका लागि भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, चीन, अमेरिका, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, स्विट्जरल्यान्ड, सिंगापुर, दक्षिण कोरिया, जापान र यूकेलगायतका मित्रराष्ट्रले सहयोग गरेका छन्।
यस्तै एसियाली विकास बैंक, विश्व बैंक, युरोपेली संघ र संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास साझेदारबाट समेत सहयोग प्राप्त भएको प्रधानमन्त्री शाहले जानकारी दिए। कतिपय मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाले थप सहयोगको प्रतिबद्धता जनाएको पनि उनले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्