काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी आइतबारदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको छ।
काठमाडौंमा आयोजित एक समारोहबीच स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्रप्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमारराज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्। एकीकृत कारोबारसँगै दुवै संस्थाका शाखा सञ्जाल, सदस्य, कर्जा तथा बचत कारोबार एउटै संस्थामार्फत सञ्चालन हुने भएका छन्। यसले संस्थाको वित्तीय क्षमता, पहुँच तथा सञ्चालन दक्षता थप सुदृढ हुने अपेक्षा गरिएको छ।
एकीकृत कारोबारअघि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब ८९ करोड ५६ लाख रुपैयाँ र विन नेपाल लघुवित्तको चुक्ता पुँजी करिब ८ करोड ४३ लाख रुपैयाँ रहेको थियो। दुवै संस्था एकीकृत भएपछि चुक्ता पुँजी करिब ९७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। एकीकृत संस्थाको शाखा संख्या ११२ पुगेको छ भने सक्रिय सदस्य संख्या १ लाख ३२ हजारभन्दा बढी र कर्मचारी संख्या करिब ६१९ पुगेको संस्थाले जनाएको छ। त्यस्तै, कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड रुपैयाँ र कुल बचत करिब ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच भएको यो एकीकरणले संस्थाको पूँजीगत आधार, वित्तीय पहुँच र सञ्चालन क्षमता विस्तार गर्नुका साथै ग्रामीण तथा विपन्न वर्गमा वित्तीय सेवा थप प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। एकीकृत कारोबारसँगै स्वरोजगार लघुवित्तले थप सबल वित्तीय संस्थाका रूपमा अघि बढ्दै सदस्य तथा सेवाग्राहीलाई गुणस्तरीय, सहज र पहुँचयोग्य वित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्