काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित अवस्थामा रहेका बीमालेख पुनः सक्रिय गराउन बीमितलाई प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना ल्याएको छ।
कम्पनीले २०८३ मंसिर २१ गतेसम्म सञ्चालन गर्ने यस योजनाअन्तर्गत निर्धारित अवधिभित्र व्यतित बीमालेख पुनर्जागरण गराउने बीमितले विलम्ब शुल्क (ब्याज) मा विशेष छुट पाउनेछन्। योजनाअनुसार, बीमालेख व्यतित भएको मितिले दुई वर्ष ननाघेका बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, दुई वर्ष नाघेका तर चार वर्ष नपुगेका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त छुट सुविधा एउटै बीमालेखको सम्पूर्ण बीमा अवधिमा एक पटक मात्र उपयोग गर्न पाइनेछ। साथै, छुट सुविधामार्फत पुनर्जागरण गरिएको बीमालेख बीमा अवधिभित्र कुनै पनि समयमा समर्पण ९सरेन्डर० गरेमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिनेछ। विभिन्न कारणले निष्क्रिय अवस्थामा पुगेका बीमालेखलाई पुनः सक्रिय बनाउँदै बीमित र उनीहरूका परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिनु यस अभियानको प्रमुख उद्देश्य रहेको कम्पनीले जनाएको छ।
यसले बीमितलाई आफ्नो बीमालेख पुनर्जागरण गर्न प्रोत्साहित गर्नुका साथै जीवन बीमाको महत्त्व र आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने कम्पनीको विश्वास छ। कम्पनीले छुट सुविधाका लागि योग्य रहेका सम्पूर्ण बीमितलाई अभियानको निर्धारित अवधिभित्रै आफ्नो व्यतित बीमालेख पुनर्जागरण गरी यस अवसरको लाभ लिन आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्