काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २ खर्ब रुपैयाँ बराबरको तरलता व्यवस्थापन गर्न लागेको छ।
बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी २८ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैंकले आज सूचना निकाल्दै बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थालाई अपराह्न २ः०० बजेसम्मको समय दिएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल गर्नुपर्नेछ।
बोलकबोलबाट निर्धारण हुने ब्याजदरमा निक्षेप सङ्कलन गरिनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी पुस ३ गते हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ देखि अधिकतम १० करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने छ । निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलमा उल्लेख गरिएको सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिने विभागले स्पष्ट गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र उक्त बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलकबोलमा निक्षेपकर्ताले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ ।
यसैबीच, बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको समीक्षा अवधिमा विभिन्न मौद्रिक उपकरणमार्फत ५५ खर्ब ९५ अर्ब २० करोड रुपैयाँ प्रशोचन गरेको छ । तरलता प्रशोचनको यो परिमाण अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत १० खर्ब ३० करोड रुपैयाँ र स्थायी निक्षेप सुविधामार्फत ४५ खर्ब ९४ अर्ब ९० करोड रुपैयाँ गरी कुल ५५ खर्ब ९५ अर्ब २० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विभिन्न मौद्रिक उपकरण प्रयोग गरी १३० खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो। यस आधारमा गत वर्षको तुलनामा चालु समीक्षा अवधिमा तरलता प्रशोचनको परिमाण करिब ५७.२ प्रतिशतले घटेको देखिन्छ । यसले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता सोस्न राष्ट्र बैंकले गर्नुपरेको हस्तक्षेपको परिमाण अघिल्लो वर्षको तुलनामा कम भएको संकेत गर्छ। यद्यपि, तरलता प्रशोचनको परिमाणमा आएको कमीलाई मात्रै कर्जा प्रवाह वा समग्र आर्थिक गतिविधिमा सुधार आएको निष्कर्षका रूपमा लिन भने मिल्दैन। बैंकिङ प्रणालीमा अतिरिक्त तरलता व्यवस्थापन केन्द्रीय बैंकका लागि महँगो बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिँदै जाँदा त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले एक वर्षमै २२ अर्ब रुपैयाँभन्दा बढी ब्याज भुक्तानी गरेको छ।
आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनअनुसार कर्जाको माग अपेक्षित रूपमा नबढेपछि बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता खिच्न केन्द्रीय बैंकले तरलता प्रशोधनबापत बैंक तथा वित्तीय संस्थालाई २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो खर्च ९ अर्ब २ करोड ६५ लाख रुपैयाँ थियो। यसरी एक वर्षमै ब्याज खर्च १४५.१६ प्रतिशतले बढेको देखिन्छ। राष्ट्र बैंकले असोज मसान्तसम्म पनि बैंकिङ प्रणालीबाट प्रशोचन गरेको तरलताको उल्लेख्य हिस्सा आफ्नो खातामा बक्यौता राखेको छ। उक्त अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ६ खर्ब ६५ अर्ब ८० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत ४ खर्ब रुपैयाँ गरी कुल १० खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ तरलता प्रशोचन गरी बक्यौता रहेको छ ।
यसले समीक्षा अवधिमा प्रशोचन गरिएको तरलतामध्ये केही रकम अझै राष्ट्र बैंकमार्फत प्रणालीबाहिरै रहेको देखाउँछ। तरलताको अवस्था व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण र ऋणपत्रलाई निरन्तर प्रयोग गरिरहेको तथ्यले पनि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन मौद्रिक नीतिको महत्वपूर्ण पक्षका रूपमा रहेको देखिन्छ।
विदेशी मुद्रा खरिदबाट साढे ३४४ अर्ब तरलता प्रवाह
एकातिर राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट अधिक तरलता प्रशोचन गरिरहेको छ भने अर्कोतर्फ विदेशी विनिमय बजारबाट अमेरिकी डलर खरिद गर्दा प्रणालीमा ठूलो परिमाणमा रुपैयाँ प्रवाह भएको छ। समीक्षा अवधिमा राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट अमेरिकी डलर २ अर्ब २५ करोड खुद खरिद गरेको छ। उक्त डलर खरिदबापत बैंकिङ प्रणालीमा ३ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा राष्ट्र बैंकले १ अर्ब ८६ करोड अमेरिकी डलर खुद खरिद गरी २ खर्ब ६२ अर्ब १४ करोड रुपैयाँ प्रवाह गरेको थियो। यस वर्ष डलर खरिदको परिमाण अघिल्लो वर्षको तुलनामा करिब २१ प्रतिशतले बढेको छ। त्यसैगरी, विदेशी मुद्रा खरिदबापत प्रणालीमा प्रवाह भएको नेपाली रुपैयाँ पनि करिब ३१.६ प्रतिशतले बढेको केन्द्रीय बैंकको वर्तमान आर्थिक प्रतिवेदनले देखाएको छ । विदेशी विनिमय बजारबाट डलर खरिद गर्दा राष्ट्र बैंकले त्यसको भुक्तानी नेपाली रुपैयाँमा गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता थपिन्छ। यसरी विदेशी मुद्रा खरिदबाट सिर्जना भएको तरलतालाई अन्य मौद्रिक उपकरणमार्फत प्रशोचन गरेर केन्द्रीय बैंकले प्रणालीमा रुपैयाँको प्रवाह व्यवस्थापन गर्ने गर्छ।
भारतीय रुपैयाँ खरिद १७.९ प्रतिशतले घट्यो
यसैबीच, समीक्षा अवधिमा राष्ट्र बैंकले अमेरिकी डलर बिक्री गरेर १ खर्ब ४१ अर्ब २७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । राष्ट्र बैंकले समीक्षा अवधिमा ९२ करोड अमेरिकी डलर बिक्री गरी उक्त परिमाणको भारतीय रुपैयाँ खरिद गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १२ करोड अमेरिकी डलर बिक्री गरेर १ खर्ब ५८ अर्ब ७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो । यस वर्ष भारतीय रुपैयाँ खरिद गर्न बिक्री गरिएको अमेरिकी डलरको परिमाण अघिल्लो वर्षको तुलनामा करिब १७.९ प्रतिशतले घटेको छ । त्यस्तै, भारतीय रुपैयाँ खरिदमा खर्च भएको रकम पनि करिब १०.६ प्रतिशतले कम भएको छ ।
समग्रमा राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनका क्रममा एकातिर विदेशी विनिमय बजारबाट अमेरिकी डलर खरिद गर्दा नेपाली रुपैयाँ प्रणालीमा प्रवाह भइरहेको छ भने निक्षेप सङ्कलन, स्थायी निक्षेप सुविधा तथा ऋणपत्रमार्फत त्यही प्रणालीबाट तरलता प्रशोचन गर्ने काम गरिरहेको छ। अर्थात्, विदेशी मुद्रा खरिदबाट थपिएको तरलता र बैंकिङ प्रणालीमा उपलब्ध अधिक तरलतालाई सन्तुलनमा राख्न राष्ट्र बैंकले मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ। यसले बैंकिङ प्रणालीको तरलता व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो रणनीति देखाएको छ। हाल केन्द्रीय बैंकले बजारमा रुपैयाँ पठाउँदै फेरि बैंकिङ प्रणालीबाटै सोस्दै आइरहेको छ। अघिल्लो वर्षको तुलनामा तरलता प्रशोचन घटे पनि असोज मसान्तमा १० खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ प्रशोचित तरलता बक्यौता रहनुले बैंकिङ प्रणालीको तरलता व्यवस्थापन केन्द्रीय बैंकका लागि चुनौती बन्दै गएको देखाउँछ।














प्रतिक्रिया दिनुहोस्