काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्समा वृद्धि तथा बाह्य क्षेत्रका कारोबारमा देखिएको सुधारसँगै नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा चालु खाता २ खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी र शोधनान्तर स्थिति ३ खर्ब रुपैयाँभन्दा बढी बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँ बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत २ खर्ब ३८ अर्ब रुपैयाँ थियो। यस वर्ष चालु खाता बचत अघिल्लो वर्षको तुलनामा थप बढेको छ । त्यस्तै, समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले मुलुकको बाह्य क्षेत्रको अवस्था थप सुदृढ हुँदै गएको देखाएको हो । चालु खाता बचतमा रहनुले वस्तु तथा सेवा व्यापार, रेमिट्यान्स, लगानी आयलगायत चालु कारोबारबाट हुने आम्दानी र भुक्तानीबीच अनुकूल सन्तुलन रहेको संकेत गर्छ । त्यस्तै, शोधनान्तर बचतले मुलुकमा भित्रिने र बाहिरिने विदेशी मुद्राको समग्र कारोबारमा प्राप्ति भुक्तानीभन्दा बढी रहेको देखाउँछ।
यस अवधिमा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। बाह्य क्षेत्रको बचतमा रेमिट्यान्स आप्रवाहको वृद्धिले महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ । यद्यपि, वस्तु व्यापारतर्फ भने आयात निर्यातभन्दा निकै बढी छ। समीक्षा अवधिमा वस्तु आयात ३८.२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ भने निर्यात ५७ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। यससँगै व्यापार घाटा ३४.७ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
व्यापार घाटा उच्च रहे पनि रेमिट्यान्स आप्रवाह र अन्य बाह्य कारोबारबाट प्राप्त आम्दानीका कारण चालु खाता तथा समग्र शोधनान्तर स्थिति भने बचतमा रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।















प्रतिक्रिया दिनुहोस्