काठमाडौं । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ हाइड्रोपावरको क्याम्पमा बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले खोज तथा उद्धार कार्य तीव्र बनाउन माग गरेका छन्। उनीहरूले उद्धार कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सोमबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’मा उद्धार तथा खोजी कार्य सुस्त रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदर्शनमा सहभागी सुमन नयाँजूले उपलब्ध स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम प्रयोग गरी उद्धार कार्यलाई तत्काल तीव्र बनाउनुपर्ने बताए। उनले सुरुदेखि नै उद्धारका लागि उपलब्ध स्रोत–साधन परिचालन गर्नुपर्नेमा ढिलाइ भएको गुनासो गरे। निजी क्षेत्रले उद्धारमा सहयोग गर्न चाहँदा समेत सुरुका दिनमा अनुमति नदिइएको र सातौँ दिनपछि मात्रै निजी कम्पनीलाई उद्धारमा सहभागी हुन दिइएको उनको भनाइ छ।

नयाँजूका अनुसार त्रिशूली–३ ‘बी’को भवन, आवास तथा कार्यालय क्षेत्र अझै पुरिएको अवस्थामा छ। उनले बाढी आएको लामो समय बितिसक्दा पनि उद्धारको काम निकै कम भएको दाबी गरे।सरकार चुक्यो कि चुकेन भन्ने विषयमा अहिले बहस गर्नुभन्दा बेपत्ता व्यक्तिको खोजी तथा उद्धारलाई तत्काल प्राथमिकता दिनुपर्ने उनले बताए।
उनले सुरक्षा निकायले केही स्थानमा प्रभावकारी काम गर्दै जीवितै उद्धारसमेत गरेको उल्लेख गर्दै त्रिशूली–३ ‘बी’मा पनि उपलब्ध सबै स्रोत–साधन परिचालन गर्न आग्रह गरे। बेपत्ता व्यक्तिका परिवार तथा आफन्तलाई समेत उद्धार अभियानमा समेटेर खोजी कार्यलाई थप प्रभावकारी बनाउन उनले सरकारसँग अपिल गरेका छन्।















प्रतिक्रिया दिनुहोस्