काठमाडौं ।रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संघले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम आज नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई हस्तान्तरण गरेको हो। रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले संयुक्त रूपमा अर्थमन्त्रीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।
संघले संकलित रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका कार्यमा उपयोग हुने विश्वास व्यक्त गरेको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले राहत तथा उद्धारका लागि सहयोग गर्ने संघका सदस्य संस्थाहरूलाई धन्यवादसमेत व्यक्त गरे।
भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले प्रभावितको राहत र पुनर्स्थापनाका लागि सरकारलाई आर्थिक सहयोग गर्दै आएका छन्।
मोबाइल फोन आयातकर्ता संघका पदाधिकारी तथा सदस्यहरू अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल, महासचिव अमित अग्रवाल, कोषाध्यक्ष प्रभाकर थापा तथा सदस्यहरू अखिल गुप्ता, अनिमित्र शर्मा, नितेश कुमार मुन्द्रा, पवन कुमार भीमसारिया, प्रदीप धामी, प्रज्ञात तिमिल्सिना, पुलकित भीमसारिया, रिशव कुमार अग्रवाल, हरि न्यौपाने र सुनिल कुमार अग्रवाल लागयत सहभागिता रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्