Advertisement
Advertisement
Corporate Samachar
२४ भाद्र २०८३, बुधबार
Advertisement

एक वर्षपछि पनि सेलाएन खरानीको ताप, पुर्ख्यौली घर सम्झिँदै व्यवसायी तथा कवि बसन्त चौधरीको भावुक सम्बोधन

एक वर्षपछि पनि सेलाएन खरानीको ताप, पुर्ख्यौली घर सम्झिँदै व्यवसायी तथा कवि बसन्त चौधरीको भावुक सम्बोधन
विज्ञापन
Advertisement

काठमाडौं । व्यवसायी तथा लेखक बसन्त चौधरीले एक वर्षअघि भएको हिंसात्मक घटनामा जलेको आफ्नो पुर्ख्यौली घर सम्झिँदै भावुक अभिव्यक्ति दिएका छन्। जेजनी आन्दोलनको क्रममा आजकै दिन भदौं २४ गते परिवर्तनका नाममा भएको हिंसाका क्रममा आफ्नो करिब पाँच दशक पुरानो पुर्ख्यौली घरसँगै पुस्तकालय, सम्मान तथा विभूषणका चिनो र प्रकाशनको तयारीमा रहेका पाण्डुलिपिहरू जलेको स्मरण गर्दै चौधरीले त्यस घटनाले भौतिक संरचना मात्र नभई आफ्नो पारिवारिक र साहित्यिक विरासतमा समेत गहिरो चोट पुगेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

आजभन्दा ठीक एक वर्षअघि भएको घटनालाई स्मरण गर्दै चौधरीले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभूति सार्वजनिक गरेका हुन्। उनले बुबाले करिब ५० वर्षअघि कठिन परिस्थितिका बाबजुद भावी पुस्ताका लागि निर्माण गरेको घर आफ्नै आँखाअगाडि खरानी भएको स्मरण गरेका छन्।

चौधरीका अनुसार उक्त घर उनका लागि केवल इँटा, सिमेन्ट र काठले बनेको संरचना थिएन। त्यसमा आमाबुबाको न्यानो सामीप्य, परिवारका पुस्तौँपुस्ताका हाँसो–आँसु, संस्कार, पहिचान र इतिहास जोडिएको थियो।

घर जलेसँगै पाँच दशकभन्दा लामो समयदेखि उनले संकलन गर्दै आएको पुस्तकालयसमेत ध्वस्त भएको थियो। उक्त पुस्तकालयलाई उनले आफ्नो साहित्यिक यात्राको मौन साक्षी, सिर्जनात्मक ऊर्जाको स्रोत र एकान्तको आत्मीय साथीका रूपमा स्मरण गरेका छन्।

त्यसैगरी, पाँच दशकको साहित्यिक यात्राका क्रममा प्राप्त सम्मान, पदवी तथा विभूषणका चिनो र प्रकाशनको पर्खाइमा रहेका पाण्डुलिपिहरू पनि आगलागीमा नष्ट भएको उनले बताएका छन्। वर्षौँका अनुभूति, सिर्जना र अधुरा सपनाहरू आफ्नै आँखाअगाडि धुवाँ बनेर उडेको क्षणलाई उनले जीवनकै पीडादायी क्षणका रूपमा सम्झिएका छन्।

घटनापछि भग्नावशेषबीच उभिँदा आफूले प्रत्येक वर्ष त्यही दिन सोही स्थानमा पुगेर जलेका स्मृतिलाई शब्दमार्फत तर्पण दिने प्रण गरेको चौधरीले उल्लेख गरेका छन्।

एक वर्षपछि त्यही स्थानमा खिचिएका दुई तस्वीर सार्वजनिक गर्दै उनले एउटा तस्वीरमा अतीतको घर र अर्कोमा वर्तमानको घाउ देखिएको बताएका छन्। ‘अगाडि उभिएको मानिस उही हो, तर पछाडिको संसार पूर्ण रूपमा फेरिएको छ’ भन्ने भावसहित उनले आफ्नो अनुभूति व्यक्त गरेका छन्।

चौधरीले आफ्नो अभिव्यक्तिमा लेखेका छन्—

घर खरानी भयो,
विरासतको कथा हराएन।
आगो त निभेर गयो,
तर खरानीको ताप सेलाएन।

पर्खालहरू सबै ढले,
तर स्वरूप ढल्न सकेन।
जताततै आफ्नै छाया देख्छु,
अतीतको त्यो लप्का अझै निभेन।

उनका अनुसार विध्वंसको आगोले भौतिक संरचना जलाउन सक्ने भए पनि इतिहास, स्मृति र विरासतलाई नष्ट गर्न सक्दैन।

‘एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ’ भन्दै चौधरीले अन्तसमा कुँदिएका स्मृतिहरू कहिल्यै खरानी नहुने भाव व्यक्त गरेका छन्।

एक वर्ष बितिसक्दा पनि त्यो घटनाको पीडा र सम्झना आफूभित्र उत्तिकै जीवित रहेको उनको अभिव्यक्तिबाट देखिन्छ। भौतिक रूपमा घर नरहे पनि त्यससँग जोडिएका पारिवारिक स्मृति, साहित्यिक यात्रा र पुस्तौँदेखिको विरासत भने अझै जीवित रहेको उनको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit