काठमाडौं । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।
ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रयोजनका लागि अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
२०८३ भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले मृतकप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
ग्रुपका अनुसार उक्त १ करोड ११ लाख रुपैयाँमा ग्रुप तथा अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत समावेश छ । विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको ग्रुपले जनाएको छ ।
एमभी दुगड ग्रुपले विपद्को सामना गर्न सरकारसँग सहकार्य गर्दै मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।
जलवायु परिवर्तन न्यूनीकरणमा वृक्षारोपण
ग्रुपले पछिल्ला वर्षमा बढ्दो प्राकृतिक विपद्को प्रमुख कारणमध्ये जलवायु परिवर्तन तथा विश्वव्यापी तापक्रम वृद्धि रहेको भन्दै वातावरण संरक्षणका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ ।
ग्रुपका अनुसार २०७८ सालदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन हुँदै आएको छ । हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा रोपिएको तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्डमा वृक्षारोपण गरिएको जनाएको छ ।
त्यस्तै, विभिन्न विद्यालय, प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपेर संरक्षण गर्ने काम भएको ग्रुपको भनाइ छ ।
विश्वव्यापी तापक्रम वृद्धिको असर न्यूनीकरण तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि उच्च प्राथमिकताका साथ निरन्तरता दिने ग्रुपले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्