काठमाडौं। एक्सिस ब्यान्डले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सांगीतिक कार्यक्रम आयोजना गरी चार लाख नौ हजार छ सय सैंतीस रुपैयाँ सहयोग गरेको छ।
पीआरभी इन्टरटेन्मेन्टको आयोजनामा त्रिसरा रेस्टुरेन्टमा एक्सिस ब्यान्डको सहकार्यमा आयोजित सांगीतिक कार्यक्रमबाट उक्त रकम संकलन भएको हो। बाढीपीडित नागरिक तथा प्रभावित परिवारलाई राहत र सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। बाढीले घर, सडक, पुल, जलविद्युत् आयोजना लगायतका महत्वपूर्ण संरचनामा क्षति पुर्याएको थियो। कार्यक्रममा सहभागी अतिथि तथा दर्शकले खरिद गरेका टिकटबाट प्राप्त रकमका साथै विभिन्न संघसंस्था तथा व्यवसायीबाट प्राप्त सहयोगसमेत गरी कुल चार लाख नौ हजार छ सय सैंतीस रुपैयाँ संकलन भएको हो।
संकलित सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा हालिएको आयोजकले जनाएको छ। कोषमा जम्मा भएको उक्त रकम बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र सहयोगमा प्रयोग गरिनेछ।कार्यक्रमलाई हिमालयन प्रोडक्सन्स, रोटेपिङ इन्टरटेन्मेन्ट, वावाज, लिक्वी मोली, पौडेल इन्टरप्राइजेज, रोटरी क्लब अफ भिजन काठमाडौं, फोनपोइन्ट्स, डोको टुर्स, समारा ट्रेडर्स इन्टरप्राइजेज, लाइभ सोलुसन, इसेवा, लेजेन्डरी मोटर्स हब तथा एनाग्राफी स्टुडियोको सहयोग रहेको थियो।















प्रतिक्रिया दिनुहोस्