Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी– अझै समय छ, सुध्रिनुस्

पुराना दलका नेतालाई गृहमन्त्रीको चेतावनी– अझै समय छ, सुध्रिनुस्
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारका कुनै पनि पदाधिकारीले भ्रष्टाचार गरेको प्रमाणित भए आफू नागरिकको पक्षबाट लड्ने बताएका छन्। उनले सरकारमा प्राप्त जिम्मेवारीलाई पद नभई जेनजी आन्दोलनले खोजेको परिवर्तन कार्यान्वयन गर्ने दायित्वका रूपमा लिनुपर्ने बताए ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा भएको जेनजी स्मृति दिवस कार्यक्रममा बोल्दै गुरुङले शहीद तथा घाइते परिवारले सरकारप्रति ठूलो आशा र विश्वास राखेको बताए । उक्त विश्वासलाई निराशामा परिणत हुन नदिने उनको भनाइ थियो । गुरुङले जेनजी आन्दोलनका क्रममा घाइते युवाहरूलाई अस्पताल पुर्‍याएको र शहीदहरूको शव काँधमा बोकेर पशुपति लैजाँदाको क्षण अझै पनि आफूले बिर्सन नसकेको बताए ।

‘आज ताली चाहिएको छैन, आज हामीलाई आशा चाहिएको छ । जसरी तपाईं–हामी मिलेर गत भदौ २३ गते आन्दोलन गर्‍यौँ । यही ठाउँमा बसेर लड्दै गर्दा कति भाइहरूलाई उठायौँ, रगतै–रगत भएका भाइबहिनीहरूलाई अस्पताल पुर्‍यायौँ । अझै पनि त्यो रगत मेरो हातमा लागेको, रगत तातै महसुस हुन्छ । ती शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको सम्झिँदा अझै पनि यो काँध भारी भइरहन्छ,’ उनले भने ।

घाइते जेनजी युवाहरू आफूलाई भेट्न ठूलो आशाका साथ आउने गरेको उल्लेख गर्दै गुरुङले उनीहरूको विश्वास पूरा गर्न आफूलाई निरन्तर दबाब महसुस हुने बताए । सरकारबाट कुनै कमजोरी नहोस् भन्नेमा आफू सचेत रहेको उनको भनाइ थियो । ‘भाइहरू मकहाँ आउनुहुन्छ आशाका साथ । कोही हातविना, कोही खुट्टाविना आउनुहुन्छ । देशमा केही हुन्छ, हाम्रै मन्त्री छन् भनेर जसरी आशाका साथ मलाई हेर्नुहुन्छ, त्यसैले सुत्न पनि डर लाग्छ,’ गुरुङले भने, ‘कुनै मेरो कमजोरी पो भइहाल्ने हो कि, एक सय दिनुपर्नेमा ९९ मात्र पो हुने हो कि भन्ने पनि डर लाग्छ । उहाँहरूले जसरी विश्वास गर्नुभएको छ, आफूले सक्ने हरदम प्रयास गरिरहेको छु । म मात्र होइन, नेपाल सरकार नै निरन्तर लागिरहेको छ ।’

उनले सरकारमा कुनै पनि प्रकारको भ्रष्टाचार स्वीकार्य नहुने संकेत गर्दै एक रुपैयाँ भ्रष्टाचार भएको थाहा पाए पनि त्यसविरुद्ध नागरिकको पक्षमा उभिने दाबी गरे । ‘त्यो परिवर्तन जसको लागि हामी लडेका थियौँ, त्यो कुर्सी जुन मलाई दिइएको छ। त्यो कुर्सीमा तपाईं नै हुनुहुन्छ भनेर सोच्नुपर्‍यो,’ उनले भने, ‘इमानदारीका साथ छाती चौडा बनाएर, शीर उच्च बनाएर भन्न सक्छु, एक रुपैयाँ कसैले भ्रष्टाचार गरेको थाहा भयो भने गृहमन्त्री तीन करोड नेपालीको तर्फबाट लड्नेवाला छ ।’

यस्तै, गुरुङले जेनजी आन्दोलनलाई पुराना राजनीतिक दलका नेताहरूले विभिन्न तरिकाले व्याख्या गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । आन्दोलनको इतिहास कसैले आफ्नो अनुकूलमा परिवर्तन गर्न नसक्ने उनको भनाइ थियो । उनले जेनजी आन्दोलनलाई अपमान गर्ने प्रयासले आन्दोलनमा सहभागी युवामात्र नभई तीन करोड नेपालीको भावनालाई अपमान गर्ने बताए । ‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरेको देख्दा अचम्म लाग्छ,’ गृहमन्त्रीले भने, ‘उहाँहरू सबैलाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् ।’

पुराना राजनीतिक दलका नेताहरूलाई आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गर्दै गुरुङले नयाँ नेपाल निर्माणका लागि पुरानो सोच त्याग्नुपर्ने बताए । ‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले तीन करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ स्मरण रहोस् । त्यही भएर अझै पनि समय छ, सुध्रिनुस् । त्यही पुरानो सोचले नयाँ नेपाल तपाईंले बनाउन सक्नुहुन्न ।’

गुरुङले वर्तमान परिवर्तन र देशले प्राप्त गरेको राजनीतिक निकासको श्रेय जेनजी आन्दोलनका शहीद, घाइते तथा आन्दोलनमा सहभागी युवाहरूलाई जाने बताए । आन्दोलनका क्रममा भएको बलिदान र युवाहरूले देखाएको साहसलाई राज्यले सधैं स्मरण गर्नुपर्ने उनको भनाइ थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit