पोखरा ।एमडब्लु वृद्धि अटोकर्प प्रालि ले चाङ्गानको नयाँ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी नेभो Q05 पोखरामा सार्वजनिक गरेको छ। कम्पनीले Q05 को अल्ट्रा भेरियन्टलाई ५१ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा नेपाली बजारमा प्रस्तुत गरेको हो।
पोखरामा सार्वजनिक गरेसँगै कम्पनीले ग्राहकलाई प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले असोज ३ देखि ६ गतेसम्म चारदिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ। पोखराको चाउथेमा रहेको डीपल शोरुममा सञ्चालन हुने कार्यक्रममा ग्राहकले नेभो Q05 को ड्राइभिङ अनुभव लिन सक्नेछन्।
Q05 को सार्वजनिक कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका अध्यक्ष शोभा गौतम प्रमुख अतिथि तथा NADA का पूर्व अध्यक्ष ध्रुव थापा र WADA का उपाध्यक्ष निरन केसी विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा डीपलका एम्बेसडर प्रदीप खड्का, MAW Vriddhi Autocorp का निर्देशक पार्थ सिकरिया तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दको पनि उपस्थिति थियो।
कम्पनीका अनुसार नेभो Q05 लाई कम्फर्ट, डिजाइन र प्रविधिमा ‘ए क्लास अबभ’ अनुभव दिने गरी विकास गरिएको हो। कम्प्याक्ट बाह्य आकार भए पनि यसमा २ हजार ७३५ मिलिमिटरको ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोग गरिएको छ। पछाडिको सिटमा तीन जना वयस्क बस्न सक्ने तथा सिटब्याकमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन रहेको कम्पनीले जनाएको छ।
Q05 मा ५४० लिटरको डुअल लेभल बुट, ९० लिटरको लुकाइएको स्टोरेज र २९ वटासम्म विभिन्न स्टोरेज स्पेस उपलब्ध छन्। साथै, ६७ भन्दा बढी साउन्ड इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्टहरू प्रयोग गरिएको छ। चयनित भेरियन्टमा १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ र पावर सनशेड पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
डिजाइनतर्फ Q05 को विकास चाङ्गानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा Volkswagen Group का पूर्व हेड अफ डिजाइन Klaus Zyciora को नेतृत्वमा गरिएको कम्पनीको दाबी छ। यसको विकासमा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विशेषज्ञ सहभागी भएको बताइएको छ। Fuguang डिजाइन फिलोसफीमा आधारित Q05 को ड्र्याग कोइफिसियन्ट ०.२६५ Cd रहेको छ।
Q05 मा Digital Wing 2.0 फुल–विड्थ लाइटिङ सिग्नेचर, Star-Ring Matrix LED टेललाइट तथा सेमी–हिडन डोर ह्यान्डल प्रयोग गरिएको छ। कम्पनीका अनुसार गाडीले २०२६ Golden A’ Design Award समेत प्राप्त गरेको छ।
प्रविधितर्फ Q05 मा CATL ब्याट्री सेलसहित चाङ्गानको Golden Shield Battery 2.0 प्रविधि प्रयोग गरिएको छ। 3C फास्ट चार्जिङ प्रणालीमार्फत उपयुक्त अवस्थामा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
गाडीमा १२० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.१ सेकेन्डमा हासिल गर्न सक्ने दाबी गरिएको छ। कम्पनीले उपलब्ध गराएको विवरणअनुसार Q05 ले WLTPC परीक्षणमा ४०५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ भने ऊर्जा खपत १२.९ kWh प्रति १०० किलोमिटर रहेको छ। प्रेस विज्ञप्तिको प्रारम्भिक विवरणमा भने NEDC परीक्षणअन्तर्गत ४६२ किलोमिटरसम्मको रेन्ज उल्लेख गरिएको छ।
प्रविधि प्याकेजअन्तर्गत १४.६ इन्चको 1080P टचस्क्रिन, अटोमोटिभ–ग्रेड MTK8675 सात न्यानोमिटर प्रोसेसर, वायरलेस Apple CarPlay र Android Auto उपलब्ध छन्। भेरियन्टअनुसार १८ वटासम्म ड्राइभर असिस्टेन्स फङ्सन तथा ५४० डिग्री प्यानोरामिक भ्युिङ सिस्टम पनि समावेश गरिएको कम्पनीले जनाएको छ।
चाङ्गान अटोमोबाइल चीनको प्रमुख अटोमोबाइल उत्पादकमध्ये एक हो। कम्पनीले १०० भन्दा बढी देशमा आफ्नो उपस्थिति रहेको र १८ हजारभन्दा बढी इन्जिनियरको विश्वव्यापी टोलीमार्फत नयाँ ऊर्जा तथा इन्टेलिजेन्ट मोबिलिटी प्रविधिमा काम गर्दै आएको जनाएको छ।
नेपालमा MAW Vriddhi Autocorp Pvt. Ltd. चाङ्गान अटोमोबाइल तथा यसका सब–ब्रान्ड Deepal, NEVO र AVATR को अधिकृत डिलरका रूपमा कार्यरत छ।















प्रतिक्रिया दिनुहोस्