काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व परिवर्तनलाई मात्रै पुनर्गठनका रूपमा बुझ्न नहुने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टी पुनर्गठन निश्चित राजनीतिक तथा संगठनात्मक परिस्थितिमा आवश्यक हुने भन्दै अहिले नेतृत्व विस्थापनको बहसलाई पुनर्गठनसँग जोड्न नमिल्ने धारणा राखेका छन्।
ओलीले पार्टीको वर्तमान अवस्था, विगतमा भएका पुनर्गठनका घटनाक्रम, राष्ट्रिय राजनीति तथा आगामी कार्यभारलाई समेट्दै आफ्नो प्रतिवेदनमा एमालेको पुनर्गठनको इतिहाससमेत प्रस्तुत गरेका छन्। उनका अनुसार पार्टी पुनर्गठन इतिहासमा निश्चित संकट र बाध्यकारी परिस्थितिका कारण भएको हो। केशरजंग रायमाझीको नेतृत्वकालदेखि झापा आन्दोलन, नेकपा (माले) हुँदै एमाले निर्माण र २०७५ सालको पार्टी पुनर्गठनसम्मका घटनालाई उनले त्यसका उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।‘पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन। के हो पुनर्गठन, कस्तो अवस्थामा हुन्छ र के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
रायमाझी प्रकरणलाई पहिलो पुनर्गठनको आधार
ओलीले पार्टी महासचिव रहेका केशरजंग रायमाझी राजावादी र दक्षिणपन्थी धारमा गएको परिस्थितिलाई एमालेको धारमा भएको पहिलो पुनर्गठनको आधारका रूपमा उल्लेख गरेका छन्।उनका अनुसार २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि रायमाझीले त्यसको समर्थन गरेपछि पार्टीको नेतृत्व नै दक्षिणपन्थी दिशामा गएको थियो। २०१८ सालको दरभंगा प्लेनमबाट समेत समस्या समाधान हुन नसकेपछि पार्टीको अल्पमतले जोनल कमिटी गठन गरी तिनकै संयोजनमा तेस्रो महाधिवेशन आयोजना गरेको र त्यसबाट पार्टी पुनर्गठन भएको ओलीको प्रतिवेदनमा उल्लेख छ।‘नेतृत्व र पार्टीको बहुमत दक्षिणपन्थी भएको र आन्दोलन बचाउने अरू कुनै वैकल्पिक उपाय नभएको बाध्यकारी अवस्थामा पार्टीको प्रथम पुनर्गठन भएको थियो’ उनले भनेका छन् ।
झापा आन्दोलनलाई दोस्रो पुनर्गठनको आधार
ओलीले तेस्रो महाधिवेशनपछि पार्टी संगठन कमजोर हुँदै गएको र कमिटीहरूबीच नेतृत्व तथा आपसी सम्पर्कसमेत टुट्दै गएपछि पार्टी अस्तित्वकै संकटमा पुगेको बताएका छन्। राजाको निरंकुश शासन र पञ्चायती व्यवस्थाको दमनका बीच २०२७–०२८ सालमा झापाबाट जनवादी गणतन्त्रको उद्देश्यसहित नयाँ पार्टी गठन, विस्तार र एकीकरणको प्रक्रिया अघि बढाइएको उनले बताएका छन्। त्यसैलाई उनले पार्टीको दोस्रो पुनर्गठनका रूपमा व्याख्या गरेका छन्। यस पुनर्गठनमा आफू पनि पहल र नेतृत्वमा रहेको ओलीको दाबी छ। उनका अनुसार यही प्रक्रिया झापा आन्दोलन, कोअर्डिनेसन केन्द्र, नेकपा (माले) हुँदै एमाले निर्माणसम्म आइपुगेको हो।
२०७५ को पुनर्गठन पनि ओलीकै नेतृत्वमा भएको दाबी
ओलीले २०७५ सालसम्म पार्टीले संगठन विस्तार, पार्टी एकीकरण र निर्वाचनमार्फत झण्डै दुई तिहाइको अवस्थामा पुग्न सफल भएको उल्लेख गरेका छन्। तर त्यसपछि पार्टीभित्र उत्पन्न विवादका कारण आफूहरूलाई पार्टीबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास भएपछि पुनः पार्टी पुनर्गठन गर्नुपरेको उनको भनाइ छ।‘त्यति बेला फेरि हामीले मेरै पहल र नेतृत्वमा पार्टी पुनर्गठन गर्न बाध्य हुनुपर्यो र हामीले त्यसै गर्यौं। यो तेस्रो पुनर्गठन थियो, हामीले नै गरेको हो।’ ओलीले विगतका पुनर्गठनहरू पार्टी र आन्दोलनको अस्तित्व तथा दिशासँग जोडिएका बाध्यकारी परिस्थितिमा भएको बताएका छन्। अहिले उठिरहेको पुनर्गठनको बहस भने त्यस्ता ऐतिहासिक परिस्थितिसँग मेल नखाने उनको निष्कर्ष छ। ‘यति बेला चलेको पुनर्गठनको हल्लाले शब्दार्थ वा भावार्थ केही पनि बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग पनि बिल्कुलै मेल खाँदैन,’ उनले उल्लेख गरेका छन् ।
यसरी ओलीको राजनीतिक प्रतिवेदनले पार्टी पुनर्गठनलाई नेतृत्व परिवर्तनभन्दा व्यापक राजनीतिक तथा संगठनात्मक प्रक्रियाका रूपमा व्याख्या गर्दै वर्तमान अवस्थामा उठिरहेको आफूले नेतृत्व छोड्नुपर्ने (विस्थापन) को बहसलाई अस्वीकार गर्ने आधार प्रस्तुत गरेको छ।















प्रतिक्रिया दिनुहोस्