काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि ह्वाइट हाउसले आफ्नै डिजिटल टेलिभिजन प्लेटफर्म ‘ट्रम्प टीभी’ सञ्चालनमा ल्याएको छ।
ह्वाइट हाउसले सेप्टेम्बर २१ देखि ‘ट्रम्प टीभी : द इसेन्सियल्स स्टेसन’ नाममा ट्रम्प प्रशासनका महत्वपूर्ण भिडियो, सम्बोधन र कार्यक्रमहरू २४ घण्टा प्रसारण गर्ने व्यवस्था सुरु गरेको हो। ट्रम्पले सेप्टेम्बर १८ मा सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।
उनले ती सञ्चारमाध्यमले आफू र आफ्नो प्रशासनबारे ‘फेक न्युज’ तथा गलत सूचना प्रकाशित गरेको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेका थिए। प्रतिबन्धको घोषणा गरेको भोलिपल्टै ती सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाइएको थियो। प्रतिबन्धपछि अमेरिकी टेलिभिजन सञ्जालहरूबीच पनि विरोध देखिएको छ। सीबीएस, एनबीसी, एबीसी र फक्ससहितका टेलिभिजन नेटवर्कले सोमबार राष्ट्रपतिको नियमित टेलिभिजन ‘पुल कभरेज’मा सहभागी नहुने निर्णय गरेका थिए। सीएनएनलाई टेलिभिजन पुलबाट हटाइएपछि अन्य नेटवर्कले पनि त्यसको सट्टा नयाँ नेटवर्क तोकेर ट्रम्पका कार्यक्रम कभर नगर्ने निर्णय गरेका हुन्।
यसको प्रत्यक्ष असर सोमबार ट्रम्पका कार्यक्रमको प्रसारणमा देखियो। न्यूयोर्कमा संयुक्त राष्ट्रसंघीय महासभासँग सम्बन्धित कार्यक्रम तथा ह्वाइट हाउसको नयाँ हेलिप्याड सार्वजनिक गर्ने कार्यक्रममा नियमित टेलिभिजन पुलको कभरेज रोकियो। ह्वाइट हाउसमा टेलिभिजन पुलको माइक्रोफोन उपलब्ध नभएका कारण ट्रम्पको एउटा कार्यक्रममा उनको भनाइ भिडियोमा देखिए पनि आवाज स्पष्ट सुनिएको थिएन।
अदालत पुगे मिडिया संस्था
ह्वाइट हाउसको प्रतिबन्धविरुद्ध सीएनएन, एमएस नाउ र पोलिटिकोले सोमबार वासिङ्टन डिसीस्थित संघीय अदालतमा संयुक्त रूपमा मुद्दा दायर गरेका छन्। उनीहरूले आफूहरुलाई तत्काल ह्वाइट हाउस प्रवेश पुनःस्थापित गर्न अस्थायी रोक आदेश जारी गर्न माग गरेका छन्। ती सञ्चारमाध्यमले सरकारलाई आफ्नो रिपोर्टिङ मन नपरेकै आधारमा पत्रकारको प्रेस पहुँच खोस्नु अमेरिकी संविधानको पहिलो संशोधनअन्तर्गतको प्रेस स्वतन्त्रता तथा पाँचौं संशोधनअन्तर्गतको उचित कानुनी प्रक्रियाको अधिकारविपरीत भएको दाबी गरेका छन्। उनीहरूले सरकार वा राष्ट्रपतिले सञ्चारमाध्यमले के रिपोर्ट गर्ने वा प्रकाशन गर्ने भन्ने आधारमा प्रेस पहुँच नियन्त्रण गर्न नहुने तर्क गरेका छन्।
ह्वाइट हाउसले भने प्रतिबन्धलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण नभई आफूले ‘फेक न्युज’ भनेका सञ्चारमाध्यमविरुद्धको कदमका रूपमा व्याख्या गरेको छ। ट्रम्पले ती सञ्चारमाध्यमको रिपोर्टिङलाई राष्ट्रिय सुरक्षासँग समेत जोड्दै प्रतिबन्धको बचाउ गरेका छन्।
विवादको केन्द्रमा ‘ट्रम्प टीभी’
प्रमुख टेलिभिजन नेटवर्कहरूले राष्ट्रपतिको कार्यक्रम कभर गर्न अस्वीकार गरेकै दिन ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्नुले घटनाक्रमलाई थप चर्चामा ल्याएको छ। नयाँ प्लेटफर्ममा ट्रम्प प्रशासनका विगतका महत्वपूर्ण क्षण, सम्बोधन तथा अन्य भिडियो सामग्री एकै ठाउँमा २४ घण्टा प्रसारण गरिने ह्वाइट हाउसले जनाएको छ। ‘ट्रम्प टीभी’को पहिलो प्रसारणमा ट्रम्पको माउन्ट रसमोर सम्बोधनलगायत पुराना कार्यक्रम देखाइएको थियो। ह्वाइट हाउसले यसलाई प्रशासनका ‘ठूला क्षण’ र ‘महत्वपूर्ण सम्बोधन’ हेर्न सकिने माध्यमका रूपमा प्रस्तुत गरेको छ।
यसैबीच, मिडिया संस्थाहरूले भने ह्वाइट हाउसको निर्णयले सरकारको कामकारबाहीबारे स्वतन्त्र पत्रकारितामार्फत जनतालाई सूचना प्राप्त गर्ने अधिकार प्रभावित हुने दाबी गरेका छन्। मुद्दामा अदालतले तत्काल प्रवेश पुनःस्थापित गर्ने आदेश दिन्छ वा प्रतिबन्ध कायम रहन्छ भन्ने विषय अब कानुनी प्रक्रियाबाट टुंगिने अन्तर्राष्ट्रिय सञ्चालमाध्यमहरुले उदृत गरेका छन्।















प्रतिक्रिया दिनुहोस्