काठमाडौं । असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बा.५ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न यातायात व्यवसायी तथा श्रमिक संघ–संगठनहरूले माग गरेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित ६ वटा महासंघ तथा संघ–संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई सामान्य चालक–ट्राफिक विवादका रूपमा मात्र नहेरी घटनाको सम्पूर्ण पक्षको छानबिन गर्न माग गरेका हुन्। विज्ञप्तिअनुसार मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बस त्रिपुरेश्वरस्थित आँखा अस्पतालअगाडि पुग्दा आफ्नै साइडमा रहेको मोटरसाइकलका कारण सडक आवागमन अवरुद्ध भएपछि चालक दोङले हर्न बजाएका थिए। हर्न बजाएको विषयमा ट्राफिक प्रहरीले बस रोकी कागजात मागेर कारबाही गर्न खोजेपछि विवाद सुरु भएको संघ–संगठनहरूको दाबी छ।
त्यसपछि ट्राफिक प्रहरीले यात्रुलाई बसबाट ओरालेर करिब दुई घण्टासम्म बस नियन्त्रणमा राखेको र चालकलाई हप्काएको विज्ञप्तिमा उल्लेख छ। बसलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखाना लैजान खोज्दा चालकले प्रतिवाद गरेको र सो क्रममा ट्राफिक प्रहरीबाट मानसिक दबाब तथा हैरानी सहन नसकेपछि उनले आफ्नै शरीरमा आगो लगाएको संगठनहरूको जिकिर छ। ‘ट्राफिक नियम उल्लंघनको विषय कानुनी कारबाहीको विषय हो। तर कानुनी कारबाही र श्रमिकलाई मर्न बाध्य पार्नेसम्मका दुर्व्यवहार एउटै विषय होइन,’ विज्ञप्तिमा भर्निको छ, ‘यो घटना चालक र ट्राफिक प्रहरीबीचको सामान्य घटनामा रूपमा मात्रै हेरिनु हुन्न, कानुन कार्यान्वयन गर्ने नियामक निकायहरूको कार्यशैली, व्यवहार र वर्षौदेखिको सडकको शासन शैलीलाई बुझ्ने र सुधार गर्ने गम्भीर विषयका रूपमा बुझनु पर्दछ।’
ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको अवस्थामा चालकले आत्मदाह प्रयास गरेको घटनाले गम्भीर प्रश्न उठाएको भन्दै उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्।‘बसको ढोका बन्द गरी चालकले आफ्नै शरीरमा आगो लगाएको तथा बससमेत जलेको दुःखद् घटनाले हामीलाई दुःखीत बनाएको छ। गम्भीर विषय ट्राफिक प्रहरीले बिहान १० बजेदेखि १२ बजेसम्म नियन्त्रणमा लिएकै अवस्थामा चालकले आत्मदाह गर्नु र सवारीसाधनमा आगजनी हुनुले राज्य गम्भीर नभएको हामीले अनुभूत गरेकाछौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
संघ–संगठनहरूले घटनाको सत्यतथ्य पत्ता लगाउन सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्। घटनास्थल तथा आसपासका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको भनाइ, फोन सम्पर्क विवरण, चालकलाई नियन्त्रणमा राखिएको समयको घटनाक्रम तथा सम्बन्धित प्रहरी अधिकारीको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ। यातायात व्यवसायी तथा श्रमिक संघ–संगठनहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका छन्। साथै, घटनामा पूर्ण रूपमा जलेको बसका धनीलाई समेत उचित क्षतिपूर्ति उपलब्ध गराउन उनीहरूले माग गरेका छन्।
उनीहरूले यातायात श्रमिकलाई श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउने व्यवस्था गर्न तथा सामाजिक सुरक्षा योजनामा अनिवार्य आबद्ध गराउन पनि माग गरेका छन्। ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, हैरानी तथा प्रक्रियागत समस्याविरुद्ध उजुरी गर्न २४ घण्टे हेल्पलाइन र द्रुत सुनुवाइ संयन्त्र स्थापना गर्नुपर्ने माग पनि उनीहरूको छ। त्यस्तै, सडकमा ट्राफिक प्रहरीको जाँच, कारबाही तथा चालकसँगको व्यवहार कानुनी प्रक्रिया र आचारसंहिताअनुसार भए–नभएको नियमित अनुगमन गर्ने संयन्त्र बनाउनुपर्ने उनीहरूले बताएका छन्। ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउँदै सरोकारवालासहितको अनुगमन संयन्त्र निर्माण गर्न तथा ट्राफिक प्रहरीलाई दिइएको तजबिजी अधिकारको दुरुपयोग रोक्न अधिकार प्रत्यायोजनको व्यवस्था पुनर्व्यवस्थित गर्न पनि माग गरिएको छ।
यी माग पूरा नभएसम्म आन्दोलन जारी राख्न ६ वटै महासंघ तथा संघका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। माग तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत रूपमा थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनाल, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी, नेपाल ट्रक यातायात महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र नेपाल यातायात मजदुर संघका महासचिव जगन्नाथ गौतमले हस्ताक्षर गरेका छन्।

















प्रतिक्रिया दिनुहोस्