काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालका ठूला चार जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी, प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार गर्ने सरकारी लक्ष्य पूरा गर्न ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय लगानीकर्ता, आयोजना विकासकर्ता तथा प्राविधिक संस्थालाई नेपालको ऊर्जा क्षेत्रमा साझेदारी गर्न आग्रह गरेका हुन् । क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन तथा ‘ट्रेड सो–२०२६’ मा सहभागी हुन क्यानडा पुगेका अध्यक्ष डाँगीले सम्मेलनलाई सम्बोधन गर्दै नेपालका ठूला जलाशययुक्त आयोजना लगानी र अन्तर्राष्ट्रिय सहकार्यका लागि महत्त्वपूर्ण अवसर भएको बताए । बाँध इन्जिनियरिङ, जलाशययुक्त आयोजना विकास, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधार निर्माणमा क्यानडाले हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुने उनको भनाइ थियो ।
नेपालमा सुरक्षित, दिगो र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने जलविद्युत् आयोजना निर्माण गर्न नेपाल र क्यानडाबीच सहकार्यको ठूलो सम्भावना रहेको उनले बताए। नेपालले जलविद्युत् उत्पादनको प्रचुर सम्भावना र विस्तार हुँदै गएको ऊर्जा बजार उपलब्ध गराउन सक्ने भएकाले दुवै देशका लागि दीर्घकालीन तथा पारस्परिक लाभदायक साझेदारीको अवसर रहेको उनको भनाइ छ। ‘नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार गर्न, ठूला जलाशययुक्त आयोजना विकास गर्न, बाँध सुरक्षालाई प्रभावकारी बनाउन तथा आधुनिक प्रविधिको उपयोग बढाउन क्यानडाको अनुभव महत्त्वपूर्ण हुन्छ,’ अध्यक्ष डाँगीले भने ।
३ हजार ६९२ मेगावाटका चार मेगा आयोजनामा निर्माणमा अन्तर्राष्ट्रिय लगानी खोज्दै नेपाल
अध्यक्ष डाँगीले नेपालमा लगानी र अन्तर्राष्ट्रिय सहकार्यका लागि सम्भावना बोकेका प्रमुख आयोजनामा तमोर जलाशययुक्त आयोजना, दूधकोशी जलाशययुक्त आयोजना, बूढीगण्डकी जलाशययुक्त आयोजना र माथिल्लो अरुणलाई उल्लेख गरेका छन् । उनका अनुसार तमोर ७६२ मेगावाट, दूधकोशी ६७० मेगावाट, बूढीगण्डकी १२०० मेगावाट र माथिल्लो अरुण १०६० मेगावाट क्षमताका आयोजना हुन् । यी ठूला आयोजनासहित विकासका विभिन्न चरणमा रहेका अन्य आयोजनामा लगानी जुटाउने, वित्त व्यवस्थापन गर्ने, इन्जिनियरिङ तथा निर्माण कार्य अघि बढाउने र आधुनिक प्रविधि भित्र्याउने क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनले बताए ।
जलाशययुक्त आयोजनाले विद्युत् उत्पादन क्षमता विस्तार गर्नुका साथै ऊर्जा प्रणालीलाई थप भरपर्दो बनाउन सहयोग गर्ने भएकाले यस्ता आयोजनाको विकासमा लगानी र प्राविधिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। त्यसका लागि आयोजना विकास, बाँध सुरक्षा, ऊर्जा भण्डारण तथा जलवायु परिवर्तनका असर सामना गर्न सक्ने पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे । नेपालले जलविद्युत् क्षेत्रमा निजी लगानी विस्तार गर्दै आएको भए पनि सरकारले निर्धारण गरेको उत्पादन लक्ष्य हासिल गर्न थप ठूलो लगानी आवश्यक रहेको अध्यक्ष डाँगीले बताए । विशेषगरी ठूला जलाशययुक्त आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत, आधुनिक प्रविधि र प्राविधिक दक्षता जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्ने उनको जोड थियो ।
२०३५ सम्म थप २४ हजार मेगावाट विद्युत् उत्पादन आवश्यक
अध्यक्ष डाँगीले नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको कुल जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्त्वाकांक्षी लक्ष्य लिएको सम्मेलनमा जानकारी गराए । उक्त लक्ष्य हासिल गर्न हालको उत्पादन क्षमताबाट थप २४ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । नेपालमा विद्युत् उत्पादनको कुल जडित क्षमता करिब ४.३ गिगावाट पुगेको उल्लेख गर्दै उनले यसमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार नेपालको विद्युत् उत्पादन क्षमताको ८० प्रतिशतभन्दा बढी हिस्सा निजी क्षेत्रबाट विकास गरिएका आयोजनाको योगदान हो । ‘सन् १९९९ देखि जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुरु भएपछि नेपालको विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि भएको छ,’ अध्यक्ष डाँगीले भने ।
सन् २००१ मा स्थापना भएको इप्पानले निजी ऊर्जा उत्पादकहरूको छाता संस्थाका रूपमा नेपालको ऊर्जा क्षेत्रमा निजी लगानी प्रवर्द्धन तथा जलविद्युत् विकासका लागि निरन्तर काम गर्दै आएको उनले बताए । सरकारको उत्पादन लक्ष्य पूरा गर्न निजी क्षेत्रको लगानी थप विस्तार गर्नुपर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको उनको धारणा छ। उत्पादन आयोजनासँगै प्रसारण लाइन र अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधार विकास गर्न सके नेपालले आन्तरिक माग पूरा गर्नुका साथै छिमेकी मुलुकमा विद्युत् निर्यातसमेत विस्तार गर्न सक्ने उनले बताए । सम्मेलनमा अध्यक्ष डाँगीले नेपालले छिमेकी देशहरूमा १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य राखेको जानकारीसमेत गराए । उक्त लक्ष्य हासिल गर्न विद्युत् उत्पादन क्षमता विस्तारसँगै प्रसारण सञ्जाल र अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधार विकासमा लगानी आवश्यक पर्ने उनको भनाइ छ।
२०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना
नेपालमा जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना विशाल रहेको उल्लेख गर्दै अध्यक्ष डाँगीले सन् २०१९ मा जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको आकलन तथा अन्य विभिन्न अध्ययनले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना देखाएको बताए । उनका अनुसार रन अफ रिभर, पिकिङ रन अफ रिभर, जलाशययुक्त र पम्प्ड स्टोरेज आयोजना विकासमार्फत नेपाल दक्षिण एसियाको स्वच्छ तथा हरित ऊर्जाको प्रमुख केन्द्र बन्न सक्छ । यसका लागि उत्पादन आयोजना निर्माण, ऊर्जा भण्डारण, प्रसारण पूर्वाधार र आधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने उनले बताए ।
जलाशययुक्त आयोजना र ऊर्जा भण्डारण प्रणालीको विकासले नेपालको ऊर्जा उत्पादन क्षमतामा विस्तार ल्याउनुका साथै क्षेत्रीय विद्युत् व्यापारलाई समेत सहयोग पुर्याउन सक्ने उनको भनाइ छ। नेपालले उपलब्ध गराउन सक्ने स्वच्छ ऊर्जाको सम्भावनालाई उपयोग गर्न अन्तर्राष्ट्रिय लगानीकर्ता, विकासकर्ता र प्राविधिक संस्थासँग सहकार्य आवश्यक रहेको उनले जोड दिए । अध्यक्ष डाँगीले नेपालको ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युत्को पहुँच पुगेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रले आर्थिक वृद्धि, रोजगारी सिर्जना, जनजीवनको गुणस्तर सुधार र स्वच्छ ऊर्जा व्यापार विस्तारमा योगदान पुर्याइरहेको बताए ।
फोटो इप्पान
नेपालमा विद्युत्को पहुँच विस्तार भइसकेको अवस्थामा उत्पादन क्षमता थप बढाउनु र क्षेत्रीय बजारमा विद्युत् व्यापार विस्तार गर्नु महत्त्वपूर्ण अवसर भएको उनले उल्लेख गरे । क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउन सके नेपाल दक्षिण एसियामा स्वच्छ विद्युत् आपूर्तिको महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित हुन सक्ने उनको विश्वास छ । उनले जलविद्युत् आयोजना विकास तथा निर्माण, लगानी परिचालन, अनुसन्धान, प्रविधि हस्तान्तरण, व्यावसायिक तालिम र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार निर्माणका क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, आयोजना विकासकर्ता तथा प्राविधिक विज्ञलाई नेपालसँग सहकार्य गर्न आग्रह गरेको इप्पनले जनाएको छ।
क्यानडा ड्याम एसोसिएसनले ‘टाइड्स अफ चेन्ज’ अर्थात् ‘परिवर्तनका लहरहरू’ मूल विषयमा आयोजना गरेको सम्मेलनको प्रशंसा गर्दै अध्यक्ष डाँगीले यस्ता अन्तर्राष्ट्रिय मञ्चले ज्ञान, अनुभव र प्रविधि आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । बाँध सुरक्षा, जलवायु उत्थानशीलता र दिगो जलविद्युत् विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनको भनाइ छ। कार्यक्रममा इप्पानको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना, हालैको भोटेकोशी बाढीबाट प्राप्त महत्त्वपूर्ण पाठ तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे प्रस्तुति दिने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया दिनुहोस्