Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

अर्मेनियाली सदनभित्र एक महिनामै तेस्रोपटक सांसदबीच कुटाकुट

अर्मेनियाली सदनभित्र एक महिनामै तेस्रोपटक सांसदबीच कुटाकुट
विज्ञापन
Advertisement

एजेन्सी । अर्मेनियाको संसद्मा सत्तारूढ दल र विपक्षी सांसदबीच फेरि हात हालाहाल भएको छ। विपक्षी नेताको परिवारलाई लिएर सत्तारूढ दलका एक सांसदले व्यंग्यात्मक टिप्पणी गरेपछि संसद् भवनभित्रै सांसदहरूबीच कुटाकुट भएको हो।

विज्ञापन
Advertisement
Advertisement

घटनाका क्रममा विपक्षी दलका एक सांसदको नाकबाट रगत बगेको र अर्का सांसदको कपडा च्यातिएको विवरण सार्वजनिक भएको छ। एक महिनाभित्रै अर्मेनियाली संसद्मा सांसदहरूबीच कुटाकुट भएको यो तेस्रो घटना हो।

घटना बिहीबार (अक्टोबर २९) संसद्को बैठक चलिरहेका बेला भएको हो। सत्तारूढ दल सिभिल कन्ट्र्याक्ट पार्टीका सांसद तारोन चाखोयानले विपक्षी दल स्ट्रङ आर्मेनियाका नेता नारेक कारापेट्यानका परिवारका सदस्यहरूको राजनीतिक संलग्नताबारे टिप्पणी गरेका थिए। उनले कारापेट्यानका आफन्तले महिलाका लागि छुट्टै मन्त्रालय स्थापना गर्ने प्रस्ताव गरेको विषयसमेत उठाएका थिए।

उक्त टिप्पणीप्रति असन्तुष्टि जनाउँदै विपक्षी नेता कारापेट्यानले संसद्भित्रै प्रतिवाद गरेपछि दुवै पक्षका सांसदबीच भनाभन सुरु भएको थियो। केहीबेरमै विवाद हात हालाहालमा परिणत भयो। सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गर्नुका साथै कुर्सीसमेत प्रहार गरेका थिए। घटनाका क्रममा सत्तारूढ दलका उपसभामुख वाहाग्न अलेक्सान्यानले विपक्षी सांसदतर्फ कुर्सी फ्याँकेको दृश्यसमेत सार्वजनिक भएको छ। झडप संसद्को बैठक कक्षबाट बाहिर करिडोरसम्म फैलिएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो।

घटनापछि संसद्का सभामुख रुबेन रुबिन्यानले विपक्षी नेता कारापेट्यानलाई झडप सुरु हुनुको मुख्य जिम्मेवार ठहर गरेका छन्। उनले घटनाको भिडियो हेरेपछि कारापेट्यानले सत्तारूढ दलका सांसद चाखोयानमाथि प्रहार गर्ने प्रयास गरेको आरोप लगाएका थिए। विपक्षी पक्षले भने सत्तारूढ सांसदको टिप्पणीपछि विवाद सुरु भएको जनाएको छ।

झडपपछि संसद् भवनमा एम्बुलेन्ससमेत बोलाइएको थियो। तर, एम्बुलेन्स संसद् पुग्नुअघि नै सहायता माग रद्द गरिएकाले कसैलाई पनि उपचार गर्न नपरेको एम्बुलेन्स सेवाका कार्यवाहक प्रमुख हारुत्युन हारुत्युन्यानले स्थानीय सञ्चारमाध्यम पानोरामा डटकमलाई बताएका छन्। यसअघि पनि अक्टोबर महिनामै अर्मेनियाली संसद्मा सांसदहरूबीच दुईपटक विवाद चर्किएर झडपका घटना भएका थिए। पछिल्लो घटनासँगै एक महिनाभित्र संसद्भित्रै तेस्रोपटक यस्तो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit