काठमाडौं। भारतीय दूरसञ्चार तथा डिजिटल प्रविधि क्षेत्रको अग्रणी कम्पनी जियो प्लेटफर्म्सले शेयर बजारमा ऐतिहासिक सुरुवात गरेको छ।
रिलायन्स इन्डस्ट्रिजको डिजिटल तथा दूरसञ्चार व्यवसाय जियोको शेयर बुधबार बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेसनल स्टक एक्सचेन्ज (एनएसई) मा प्रतिकित्ता १ हजार ३५८ भारुमा सूचीकृत भएको हो। यो कम्पनीको आईपीओ निष्कासन मूल्य १ हजार ११९ भारुभन्दा २१.३६ प्रतिशत बढी हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र भारतीय आर्थिक सञ्चारमाध्यम बिजनेस स्ट्यान्डर्डले जनाए अनुसार, सूचीकरणसँगै जियोको बजार पुँजीकरण करिब १२.५ लाख करोड भारु पुगेको छ। यसले जियोलाई भारतको दोस्रो ठूलो सूचीकृत कम्पनी बनाएको छ। पहिलो स्थानमा रहेको मूल कम्पनी रिलायन्स इन्डस्ट्रिजको बजार पुँजीकरण करिब १६.१५ लाख करोड भारु छ भने प्रतिस्पर्धी भारती एयरटेलको बजार पुँजीकरण करिब १२.१८ लाख करोड भारु रहेको छ। यससँगै जियो भारतीय दूरसञ्चार क्षेत्रमा बजार पुँजीकरणका आधारमा अग्रस्थानमा पुगेको छ।
भारतकै सबैभन्दा ठूलो आईपीओ
जियोले यस आईपीओमार्फत ३० हजार २१३ करोड भारु जुटाएको छ। करिब ३.१८ अर्ब अमेरिकी डलर बराबरको यो आइपीओ निष्कासन भारतकै अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ हो। यसअघि सन् २०२४ मा हुन्डाई मोटर इन्डियाले कायम गरेको ठूलो आईपीओको कीर्तिमानलाई जियोले उछिनेको हो। आईपीओमा लगानीकर्ताको आकर्षण पनि असाधारण देखियो। रोयटर्सका अनुसार, निष्कासनमा १ करोड ३८ लाखभन्दा बढी आवेदन परेका थिए। यसले भारतीय आईपीओ बजारमा लगानीकर्ताको सहभागितासम्बन्धी नयाँ कीर्तिमान कायम गरेको छ। अक्टोबर २१ मा निष्कासन खुलेको करिब १०० मिनेटमै आईपीओ पूर्ण रूपमा बिक्री भएको थियो। अक्टोबर २३ मा बन्द हुँदा माग निष्कासनको तुलनामा २२.१९ गुणा पुगेको थियो।
आइपीओमा संस्थागत लगानीकर्ताको उच्च आकर्षण
भारतीय सञ्चारमाध्यम बिजनेस स्ट्यान्डर्डले सार्वजनिक गरेको विवरणअनुसार, योग्य संस्थागत लगानीकर्ता तर्फको आवेदन ७०.५५ गुणा पुगेको थियो। गैर-संस्थागत लगानीकर्तातर्फ १४.०९ गुणा र खुद्रा लगानीकर्तातर्फ २.७२ गुणा आवेदन परेको थियो। कर्मचारीका लागि छुट्याइएको हिस्सामा २.९३ गुणा तथा रिलायन्स इन्डस्ट्रिजका विद्यमान शेयरधनीका लागि छुट्याइएको हिस्सामा ७.६० गुणा आवेदन परेको थियो। यी तथ्याङ्कले ठूला संस्थागत लगानीकर्तादेखि सर्वसाधारणसम्म जियोप्रति बलियो आकर्षण रहेको देखाउँछन्। आईपीओमा सार्वजनिक निष्कासनतर्फ करिब ४.९ लाख करोड भारु बराबरको माग परेको थियो भने एंकर लगानीकर्ताबाट थप करिब २.५ लाख करोड भारु बराबरको माग आएको रिपोर्टमा उल्लेख छ।
आइपीओपछि एक दशकको यात्रामा जियोको ठूलो फड्को
सन् २०१६ सेप्टेम्बर ५ मा व्यावसायिक सेवा सुरु गरेको जियोले निःशुल्क सिम कार्ड र प्रारम्भिक अवधिमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँदै भारतीय दूरसञ्चार बजारमा तीव्र प्रतिस्पर्धा सिर्जना गरेको थियो। त्यसपछि मोबाइल डेटा, फाइभजी, घरायसी ब्रोडब्यान्ड, डिजिटल सेवा र क्लाउड प्रविधिमा विस्तार गर्दै कम्पनीले आफ्नो व्यवसाय बढाएको छ। रोयटर्सका अनुसार, मार्च २०२६ सम्म जियोको दूरसञ्चार व्यवसायमा ५२ करोडभन्दा बढी ग्राहक थिए। मेटा र गुगलको मूल कम्पनी अल्फाबेटजस्ता विश्वव्यापी प्रविधि कम्पनीको लगानीसमेत रहेको जियो अब सार्वजनिक शेयर बजारमा प्रवेशसँगै नयाँ चरणमा पुगेको छ। मनीकन्ट्रोलको रिपोर्टअनुसार, आईपीओ मूल्यकै आधारमा १०० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्याङ्कन हासिल गर्ने संस्थापक–नेतृत्वयुक्त कम्पनीहरूको समूहमा जियो पनि सामेल भएको छ।जियोको सफल सूचीकरण र प्रारम्भिक कारोबारमा प्राप्त उच्च मूल्यवृद्धिले भविष्यमा पनि शेयरको मूल्य बढिरहने सुनिश्चित भने गर्दैन।















प्रतिक्रिया दिनुहोस्