काठमाडौं । छठ पर्व मनाउने बहानामा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू मधेश झरेका छन्। रास्वपा सभापति रवि लामिछाने जनकपुर, कांग्रेस सभापति गगन थापा सर्लाही र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ सिरहा पुग्दा यसपटकको छठ धार्मिक आस्थासँगै राजनीतिक भेटघाट र संगठन व्यवस्थापनको अवसरसमेत बनेको देखिन्छ।
लामिछानेको जनकपुर भ्रमणलाई रास्वपाको मधेशमा देखिएको सांगठनिक विवाद समाधानको प्रयासका रूपमा हेरिएको छ। अधिवेशन, प्रतिनिधि छनोट र नेतृत्व चयनमा देखिएका विवादबीच उनको मधेश उपस्थितिले पार्टीभित्र सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।यस्तै, कांग्रेस सभापति गगन थापा पनि पत्नीसहित सर्लाही पुगेर पूजाअर्चना गरेका छन् ।

उनले सर्लाही जाने क्रममा नेपाली समाजमा फैलिएको नकारात्मकता अन्त्य गर्दै छठले नेपाली समाजमा सकारात्मकता र सद्भाव बढाउने विश्वास व्यक्त गरे । यस्तै, उनले भिमफेदी दुर्घटना पिडित परिवारसँग पनि भेट गरेका छन्।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि परिवारसहित सिरहा पुगेर पर्व मनाएका छन् ।


यसैगरी, सभामुख डोलप्रसाद अर्यालले पनि बाराको इटियाहीस्थित सानो टोल, धोबीघाट पुगेर छठ पर्वको पूजाअर्चनामा सहभागी बनेका छन् । उनले वीरगञ्जका घडिअर्वा पोखरी, नगवा पोखरी, बारा क्षेत्रका जितपुर लालका पुल छठघाट, परवानीपुर गाउँपालिका पुगेर स्थानीयसँग भेटघाट गरेका थिए ।
धार्मिक आस्थाको साझा पर्व छठ नेताहरूका लागि जनसम्पर्क विस्तार, राजनीतिक सन्देश प्रवाह र मधेशसँगको सम्बन्ध सुदृढ गर्ने अवसरसमेत बन्दै गएको देखिन्छ।

















प्रतिक्रिया दिनुहोस्