काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वको अवसरमा आइतबार छठीमाताको पूजाअर्चना गरेका छन् ।
राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाटस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् । उनले छठीमाताको विधिपूर्वक पूजाअर्चना गर्दै पर्व मनाएका छन् । राष्ट्रपति पौडेल गुहेश्वरीमा पुग्दा सांसदहरू विष्णुदेवि पुडासैनी र पुकार बम, पशुपति विकास कोषका पदाधिकारी, जनप्रतिनिधि र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
छठपर्वको अवसरमा काठमाडौं उपत्यकाका विभिन्न नदी, पोखरी तथा जलाशयमा विशेष पूजास्थल निर्माण गरी भक्तजनले सूर्यदेव र छठीमाताको आराधना गरिरहेका छन् । कमलपोखरी, गुह्येश्वरी, गौरीघाट र ललितपुरको कुपण्डोललगायत क्षेत्रमा छठ पूजाका लागि विशेष तयारी गरिएको छ । ती स्थानमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु तथा श्रद्धालुहरू पूजाआराधनामा सहभागी भएका छन् ।
छठपर्वको मुख्य विधिअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो। व्रतालुहरू रातभर जाग्राम बसेर सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। बिहानको अर्घ्यसँगै चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठपर्व विधिवत् रूपमा समापन हुनेछ । सूर्यदेव र षष्ठी भगवतीको आराधना गरिने छठपर्वमा परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको दीर्घायु र कल्याणको कामना गरिन्छ । विशेषगरी पुत्र, पति तथा परिवारको आरोग्य र मंगलकामना गर्दै महिला तथा पुरुष दुवैले कठिन व्रत बस्ने परम्परा छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गरे मनोकाङ्क्षा पूरा हुने र दुःखकष्टबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ । छठपर्वले प्रकृति, सूर्य र जलप्रतिको सम्मानसँगै पारिवारिक सुख, सामाजिक सद्भाव र धार्मिक आस्थाको सन्देश दिने पर्वका रूपमा विशेष महत्व राख्दै आएको छ ।

















प्रतिक्रिया दिनुहोस्