काठमाडौं । भोटेकोशी बाढीमा ज्यान गुमाएका १७४ जना योगदानकर्ताका परिवारले सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनसहित अन्य सुविधा पाउने भएका छन्।
सामाजिक सुरक्षा कोषका अनुसार बाढीमा ज्यान गुमाएका योगदानकर्ताका परिवारलाई आजीवन पेन्सन, छोराछोरीको अध्ययन खर्च, किरिया खर्च तथा योगदानबापतको रकम प्रतिफलसहित उपलब्ध गराइनेछ।
कोषले सार्वजनिक गरेको व्यवस्थाअनुसार मृतक योगदानकर्ताका श्रीमान् वा श्रीमतीले पछिल्लो २४ महिनाको औसत पारिश्रमिकको ६० प्रतिशत रकम आजीवन पेन्सनका रूपमा पाउनेछन्। त्यस्तै, १८ वर्षभन्दा कम उमेरका छोराछोरीले अध्ययन खर्चबापत प्रत्येक महिना ४० प्रतिशत रकम प्राप्त गर्नेछन्। शारीरिक रूपमा अशक्त छोराछोरीले भने आजीवन ४० प्रतिशत रकम पाउने व्यवस्था रहेको छ।
यसका, अतिरिक्त मृतक योगदानकर्ताका परिवारलाई पेन्सनका साथै २५ हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराइनेछ। योगदानकर्ताले जम्मा गरेको ३१ प्रतिशतमध्येको २८.३३ प्रतिशत रकमसमेत प्रतिफलसहित एकमुष्ट रूपमा परिवारले फिर्ता पाउने कोषले जनाएको छ।
कोषका अनुसार नियमित योगदान गर्ने योगदानकर्ताका परिवारले मात्र यी सुविधा प्राप्त गर्नेछन्। सामाजिक सुरक्षा कोषले आफ्ना सुविधालाई ‘अटोमेटिक स्टेबलाइजर’को संज्ञा दिँदै योगदानकर्ताको मृत्यु भएमा सम्बन्धित परिवारले स्वतः सुविधा पाउने व्यवस्था रहेको स्पष्ट पारेको छ।















प्रतिक्रिया दिनुहोस्