काठमाडौं । विश्वकै अग्रणी एआई चिप निर्माता अमेरिकी कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङको व्यक्तिगत सम्बन्धसम्बन्धी विवादले अन्ततः कम्पनीको शीर्ष नेतृत्व नै परिवर्तन गराएको छ।
चिनियाँ जासुस भएको आशंका गरिएकी एक महिलासँगको कथित विवाहेत्तर सम्बन्ध र आफ्नै कम्पनीकी उच्च अधिकारीसँगको सम्बन्ध सार्वजनिक भएपछि बढेको दबाबबीच हुआङले सीईओ पदबाट बिहीबार राजीनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिले उनको राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गरेको हो ।
एनभिडियाले नोभेम्बर १२ मा जारी गरेको विज्ञप्तिअनुसार कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ। क्रेसले सन् २०१३ देखि एनभिडियाको वित्त विभागको नेतृत्व गर्दै आएकी छन् । स्थायी सीईओ नियुक्त नभएसम्म उनले सीएफओको जिम्मेवारीसँगै अन्तरिम सीईओको भूमिका पनि सम्हाल्नेछिन्। कम्पनीको सञ्चालक समितिले स्थायी नेतृत्वका लागि आन्तरिक र बाह्य दुवै उम्मेदवार खोज्ने प्रक्रिया सुरु गरेको जनाएको छ ।
यससँगै एनभिडियाले पहिलोपटक सञ्चालक समितिको अध्यक्षसमेत नियुक्त गरेको छ। कम्पनीका लामो समयदेखि सञ्चालक रहेका हार्भे सी जोन्सलाई बोर्ड अध्यक्ष बनाइएको छ। उनी सन् १९९३ देखि नै एनभिडियाको सञ्चालक समितिमा आबद्ध छन् । हुआङको राजीनामाले एआई उद्योगमा मात्र नभई विश्व शेयर बजारमा समेत ठूलो प्रभाव पारेको छ। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार हुआङको विवाहेत्तर सम्बन्ध सार्वजनिक भएपछि सोमबार र मंगलबारको कारोबारमा एनभिडियाको शेयर मूल्य ९.६ प्रतिशतले घटेको थियो। कम्पनीको नोभेम्बर ६ को कारोबार बन्द हुँदाको करिब ४.५१ ट्रिलियन डलर बजार पुँजीकरण नोभेम्बर १० सम्म आइपुग्दा करिब ४.०८ ट्रिलियन डलरमा झरेको थियो । यस हिसाबले दुई कारोबार दिनमै कम्पनीले करिब ४३० अर्ब डलर बराबरको बजार मूल्य गुमाएको देखिन्छ।
त्यसपछि पनि कम्पनीको शेयरमा दबाब कायमै रह्यो । नोभेम्बर १२ मा हुआङको राजीनामा सार्वजनिक भएपछि एनभिडियाको शेयर कारोबार सुरु हुँदा एक समय १४ प्रतिशतभन्दा बढीले घटेको थियो । अन्ततः उक्त दिन शेयर ४.३ प्रतिशत घटेर १६६.१९ डलरमा बन्द भएको सीबीएस न्युजले जनाएको छ। बजारसम्बन्धी समाचार संस्था मार्केटवाचका अनुसार बिहीबारको कारोबारमा मात्रै कम्पनीको बजार पुँजीकरण १८२ अर्ब डलरले घटेको थियो। उक्त दिनको गिरावटसमेत जोड्दा साताको सुरुदेखि कम्पनीले करिब ४९३ अर्ब डलर बजार मूल्य गुमाइसकेको थियो । यो घटनाले व्यक्तिगत विवादले विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एकको बजार विश्वासमा कति ठूलो असर पार्न सक्छ भन्ने देखाएको छ।
विवादको सुरुवात हुआङको कथित चिनीयाँ जासुस एलिस हुआङसँगको प्रेम सम्बन्ध सार्वजनिक भएपछि भएको थियो । दुवैको पारिवारिक नाता नरहेको बताइएको छ। सिंगापुरस्थित मेगास्पिड कम्पनीमा कार्यकारी पदमा रहेकी एलिसलाई अमेरिकी गुप्तचर निकायहरूले चीनका लागि सूचना संकलन गर्ने व्यक्ति भएको आशंका गरेको समाचार सार्वजनिक भएको थियो । अमेरिकी अखबार द न्युयोर्क टाइम्स र बीबीसीले यस विषयमा रिपोर्ट प्रकाशित गरेका थिए । चीनले भने उनिमाथि लगाइएको जासुसीको आरोप अस्वीकार गर्दै आएको छ । समाचार सार्वजनिक भएपछि हुआङले नोभेम्बर ८ मा आफू पत्नीप्रति इमानदार नरहेको स्वीकार गरेका थिए । यसैबीच, एनभिडियाकै उच्च अधिकारी किम्बर्ली पावेलसँग पनि उनको विवाहेत्तर सम्बन्ध रहेको समाचार सार्वजनिक भयो। द न्युयोर्क टाइम्सका अनुसार पावेल कम्पनीको हेल्थकेयर विभागकी उपाध्यक्ष हुन् र उनले हुआङलाई प्रत्यक्ष रूपमा रिपोर्ट गर्थिन् । कम्पनीका केही कर्मचारीले यी दुईबीच अस्वाभाविक निकटता रहेको देखेको स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
नोभेम्बर १२ मा रोयटर्सले पनि हुआङको कम्पनीकै अर्की एक कर्मचारीसँग घनिष्ठ सम्बन्ध रहेको भन्दै दुई स्रोतलाई उद्धृत गरेर समाचार प्रकाशित गरेको थियो। यद्यपि उक्त समाचारमा ती कर्मचारीको नाम सार्वजनिक गरिएको छैन। एनभिडियाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ। विवादले व्यक्तिगत आचरणको प्रश्न मात्र उठाएको छैन, अमेरिकी राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयसमेत बनाएको छ। एनभिडियाका चिपहरू विश्वभरका एआई प्रणाली, डाटा सेन्टर र अत्याधुनिक कम्प्युटिङ प्रविधिमा प्रयोग हुने भएकाले कम्पनीको चीनसँगको व्यापारिक सम्बन्ध अमेरिकी सरकारको विशेष निगरानीमा रहँदै आएको छ । हुआङको एलिससँगको सम्बन्धमार्फत कम्पनीको गोप्य व्यावसायिक सूचना वा अमेरिकी प्रविधिसम्बन्धी संवेदनशील जानकारी बाहिरिएको थियो कि थिएन भन्ने प्रश्नले थप चिन्ता बढाएको छ ।
एनभिडियाले विदेशी गुप्तचर निकायले हुआङलाई निशाना बनाएको थियो वा थिएन भन्ने विषयमा स्वतन्त्र अनुसन्धान सुरु गरेको जनाएको थियो । कम्पनीले राष्ट्रिय सुरक्षा वा आफ्नो गोप्य सूचनामा सम्झौता भएको विश्वास गर्ने आधार नरहेको बताउँदै अनुसन्धानबाट प्राप्त सबै जानकारी परीक्षण गर्ने जनाएको थियो । अमेरिकी राजनीतिज्ञहरूले पनि यस विषयमा कंग्रेससमक्ष स्पष्टीकरण मागेका थिए । सिनेटर एलिजाबेथ वारेन र क्रिस कुन्सलगायतले हुआङको सम्बन्ध र सम्भावित राष्ट्रिय सुरक्षा जोखिमबारे प्रश्न उठाएका थिए । यो घटनाले एनभिडियाको नेतृत्व, संस्थागत सुशासन र लगानीकर्ताको विश्वासमाथि गम्भीर प्रश्न खडा गरेको छ । यद्यपि एलिस हुआङमाथि लागेको जासुसीको आरोप र कम्पनीको गोप्य सूचना चुहावट भएको आशंकाबारे अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन। तर, जेन्सनको एक्स्ट्रा मेरिटल अफेयर यतिबेला व्यक्तिगत नभई विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीनबीचको एआई पावरको लडाइ समेत बनेको छ।
सन् १९९३ मा स्थापना भएको एनभिडियालाई ग्राफिक्स प्रोसेसर निर्माता कम्पनीबाट विश्वव्यापी एआई पूर्वाधारको केन्द्रमा पुर्याउन हुआङको निर्णायक भूमिका थियो। तीन दशकभन्दा बढी समय कम्पनीको सार्वजनिक अनुहार बनेका उनले एनभिडियालाई विश्वको अग्रणी एआई चिप निर्माता कम्पनी बनाउन ठूलो योगदान गरेका छन् । उनको बहिर्गमनले अब एनभिडियाले संस्थापक नेतृत्वबिनै आफ्नो एआई रणनीति, ग्राहक सम्बन्ध र बजारको विश्वास कायम राख्नुपर्ने चुनौती थपिएको छ । अन्तरिम सीईओ क्रेसका लागि पनि यो नेतृत्व हस्तान्तरणको समय कम्पनीको व्यावसायिक गति र लगानीकर्ताको भरोसा जोगाउने महत्त्वपूर्ण परीक्षा बन्नेछ ।
जेन्सनको बर्हिगमनसँगै यसबाट कसलाई धेरै फाइदा हुन सक्छ र एनभिडियामाथि अब कसको कन्ट्रोल होला ? तथा एनभिडिया र अमेरिकी प्रतिष्पर्धी एआई कम्पनीहरुको आपसी राजनीतिले यसको पछाडि काम गरिरहेको त छैन्? प्रश्न भने उब्जाएको छ ।















प्रतिक्रिया दिनुहोस्