काठमाडौं। हायात सेन्ट्रिक ब्राण्डअन्तर्गत नेपालको पहिलो होटल सञ्चालन गरिरहेको सिटी होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। कम्पनीले आम्दानी बढाउनुका साथै सञ्चालन नाफामा उल्लेख्य वृद्धि गर्दै खुद नोक्सानीसमेत घटाउन सफल भएको छ ।
कम्पनीले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नोक्सानी २८ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ४ करोड ३ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नोक्सानी ५ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।
यसरी एक वर्षको अवधिमा कम्पनीको खुद नोक्सानी १ करोड ५४ लाख रुपैयाँ अर्थात् करिब २८ प्रतिशतले घटेको छ ।समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा पनि वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५५ लाख रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १२ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, होटलको सञ्चालन नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा करिब ५३ प्रतिशतको वृद्धि हो । आम्दानीमा भएको वृद्धि, सञ्चालन नाफामा देखिएको सुधार र खुद नोक्सानीमा आएको कमीले सिटी होटलको वित्तीय अवस्थामा सुधार हुँदै गएको संकेत गरेको छ ।















प्रतिक्रिया दिनुहोस्