Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

एमालेको राष्ट्रिय भेलामा ३ हजार बढी नेता–कार्यकर्ता जुट्दै: शक्ति, संगठन र चुनावी रणनीतिको मन्थन हुने

एमालेको राष्ट्रिय भेलामा ३ हजार बढी नेता–कार्यकर्ता जुट्दै: शक्ति, संगठन र चुनावी रणनीतिको मन्थन हुने
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा ३ हजार ४१४ जना सहभागी हुने जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी तथा विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिसम्मको सहभागिता रहने भेलालाई एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक स्पष्टता र संगठनात्मक एकता सुदृढ गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले भेलाको तयारीबारे जानकारी दिँदै एमालेको पार्टी इतिहासमै पहिलोपटक पालिका तहदेखि केन्द्रीय नेतृत्वसम्मका नेता तथा जनप्रतिनिधि एउटै मञ्चमा सहभागी हुन लागेको बताए।

उनका अनुसार सहभागी संख्याका हिसाबले यो भेला महाधिवेशनपछिको सबैभन्दा ठूलो कार्यक्रम हुनेछ। भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, प्रवासका प्रतिनिधि, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष सहभागी हुनेछन्। त्यस्तै संघीय सांसद, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको समेत उपस्थिति रहनेछ। माइतीघर हाइटस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा ओलीले मुलुकको समसामयिक राजनीतिक अवस्था, एमालेको दृष्टिकोण र भावी कार्यदिशासहित पार्टीको दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामबारे राजनीतिक तथा वैचारिक मार्गदर्शन गर्नेछन्।

भेलामा पार्टीकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि विशेष सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् भने अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा गर्नेछन्। महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन केन्द्रित कार्ययोजना प्रस्तुत गर्नेछन्। एमालेले २०८३ असोज ५ देखि ८ गतेसम्म सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकबाट पारित दुई प्रमुख कार्यभार र १५ कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता भेलामार्फत जनतासमक्ष पुर्‍याउन खोजेको छ। साथै सरकारका कामकारबाहीप्रति असन्तुष्टि, राजनीतिक अन्योल र निराशा बढिरहेको निष्कर्ष प्रस्तुत गर्दै जनतामाझ नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य राखेको छ।

भेलामा सहभागी प्रत्येक प्रतिनिधिले स्थानीय निर्वाचन केन्द्रित सुझाव लिखित रूपमा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ। सहभागीको आवास स्वयंले व्यवस्थापन गर्नुपर्ने र आवश्यक समन्वय जिल्ला सम्पर्क कमिटीले गर्नेछ। सुरक्षा व्यवस्थापनका लागि १०० जना स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्कसमेत राखिने एमालेले जनाएको छ। दुई दिनसम्म चल्ने भेलालाई एमालेले आसन्न स्थानीय निर्वाचनको रणनीति तय गर्ने, पार्टीभित्र राजनीतिक बुझाइमा एकरूपता कायम गर्ने र संगठनलाई थप एकताबद्ध बनाउने निर्णायक अवसरका रूपमा प्रस्तुत गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit