काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बिचौलिया भनिएका इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको बताएका छन्। उनले सापकोटालाई सरकारले नियन्त्रणमा लिए पनि अनुसन्धान प्रक्रिया रहस्यमय देखिएको टिप्पणी गरेका हुन्।
आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुन लागेको पार्टीको राष्ट्रिय भेलाबारे सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले इनम सापकोटाको नाममा सार्वजनिक भएका घटनाक्रमका थप रहस्य बाहिर आउन बाँकी रहेको बताए। उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई प्रतिनिधिसभा निर्वाचनमा झापाबाट उम्मेदवार बनाउने वा नबनाउने भन्ने विषयमा गरिएको सर्वेक्षणसमेत सापकोटाकै नेतृत्वमा भएको दाबी गरे। निर्वाचनको क्याम्पेनमा सहभागी भएका सापकोटा प्रधानमन्त्री बनेपछि सरकारलाई सफल बनाउने भन्दै गठन गरिएको कोर टिममा समेत रहेको कुरा बाहिर आएको उनको भनाइ थियो।
पोखरेलले प्रधानमन्त्रीका नाममा सापकोटाले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई त्रसित बनाउने प्रयास गरेको विषय पनि सार्वजनिक भइसकेको उल्लेख गरे। त्यस्तै, प्रधानमन्त्रीका प्रमुख राजानीतिक सल्लाहकारले प्रहरीले नियन्त्रणमा लिएको मोबाइल दुई दिनसम्म आफूसँग राखेको विषय बाहिर आएको उल्लेख गर्दै उनले यसले देश कस्तो प्रकारको शासन व्यवस्थातर्फ अघि बढिरहेको छ भन्ने प्रश्न खडा गरेको तर्क गरे । ‘अहिले इनम सापकोटाका नाममा जे पटाक्षेप भएको छ, त्यसका रहस्यहरू त आउन बाँकी नै छ। धेरैले गरेको विश्लेषण के छ भन्दा प्रधानमन्त्रीलाई झापामा उम्मेदवार बनाउन उपयुक्त हुन्छ, हुँदैन भन्ने कुराको सर्वेक्षण पनि उनकै नेतृत्वमा भयो,’ पोखरेलले भने, ‘चुनावको क्याम्पेनमा पनि उनी सामेल भए। प्रधानमन्त्री भइसकेपछि कसरी सरकारलाई सफल बनाउने भन्ने कोर टिमभित्र पनि उनी रहे भन्ने सम्मका कुराहरू आए।’
उनले थपे, ‘प्रधानमन्त्रीका नाममा उनले सबै क्षेत्रलाई टेरराइज गर्न खोजेका कुराहरू बाहिर आइसके। अब प्रधानमन्त्रीका सल्लाहकारले प्रहरीले नियन्त्रणमा लिएको मोबाइल दुई दिनसम्म राखेको कुरा पनि बाहिर आइसकेको भन्दा हामी कस्तो प्रकारको शासन व्यवस्थातर्फ जान खोज्दै छौँ भन्ने कुराको यो एउटा दृष्टान्त हो भन्ने मलाई लाग्छ।’ सापकोटालाई सरकारले नै नियन्त्रणमा लिएको भए पनि अनुसन्धानको प्रक्रिया भने पारदर्शी नभएको पोखरेलको आरोप छ।‘यद्यपि अहिले यही सरकारले इनम सापकोटालाई नियन्त्रणमा लिएको छ, तर पनि अनुसन्धानको प्रक्रिया चाहिँ रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन,’ पोखरेलले भने। पोखरेलले इनम सापकोटासँग जोडिएका विषयमा सार्वजनिक भएका घटनाक्रमको निष्पक्ष र पारदर्शी अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्