काठमाडौं। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री डा.स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।
तुर्किएमा आयोजित सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु वित्त, विपद्पछिको ऋण व्यवस्थापन, जलवायु उत्थानशीलता र अन्तर्राष्ट्रिय वित्तीय सहकार्यसम्बन्धी करिब एक दर्जन कार्यक्रममा सहभागिता जनाएका थिए । सो क्रममा अर्थमन्त्री वाग्लेले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए। उनले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराउन अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वमा जोड दिएका छन् ।
त्यस्तै, सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’ मा नेपाललाई १०५औँ सदस्यका रूपमा आबद्ध गराएका छन्। सोही क्रममा उनले ‘उत्थानशीलताका लागि वित्तीय अवकाश’ अर्थात् विपद् तथा जलवायु जोखिम सामना गर्न आवश्यक वित्तीय स्रोतको व्यवस्थापनसम्बन्धी नीतिगत अवधारणा पनि छलफलका लागि प्रस्तुत गरे। सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली र बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डसँग पनि विशेष भेटवार्ता गरेका थिए । विपद्पछि प्रभावित राष्ट्रलाई ऋणको भारबाट राहत दिलाउने उद्देश्यले अघि बढाइएको विश्वव्यापी अभियानअन्तर्गत विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको उनको सचिवालयले जनाएको छ ।
नेपालले सम्मेलनमा उठाएका जलवायु वित्त तथा अन्य मुद्दामा अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेले पाँच प्रभावशाली जलवायु दूतहरूसँग समेत छलफल गरेका थिए । छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्विडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसंघका महासचिवका जलवायु दूत सेल्विन हार्ट सहभागी थिए । यसैगरी, हरित जलवायु कोषको उच्च नेतृत्वसँग नेपालको आगामी जलवायु कार्यक्रम र वित्तीय सहायताका सम्भावनाबारे छलफल भएको थियो । जेनेभास्थित विश्व मौसम विज्ञान संगठनअन्तर्गत सञ्चालित जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि अर्थमन्त्री वाग्लेले विशेष सम्बोधन गरेका थिए। उक्त कार्यक्रमबाट नेपालले समेत लाभ लिइरहेको छ ।
जलवायु परिवर्तन र अर्थशास्त्रका क्षेत्रमा ख्याति कमाएका प्राध्यापक योहान रक्स्त्रोम र प्राध्यापक निकोलस स्टर्नसँग पनि अर्थमन्त्री वाग्लेले भेटवार्ता गरेका थिए । भेटमा जलवायु संकट, आर्थिक प्रभाव र दिगो वित्तीय व्यवस्थापनका विषयमा छलफल भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालको जलवायु सरोकारलाई प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’लाई अन्तर्वार्तासमेत दिएका थिए । साथै, सन् २०२६ का लागि ‘टाइम’ पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएको जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्