काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृति सामन्ती सोच भएको बताएका छन् । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुवा’ (आत्मकथा) को आज लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कुनैजना व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन सोच भएको तर्क गरे । “सबै नेपालीका पूर्खाले लडेर यो देश बनाएको हो, कुनै एकजना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो” उनले भने, “अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका कोही नपर्दा हुन्छ ।”
प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्र्तव्य एउटै हुनुपर्नेमा जोड दिए । “देश र जनताको हितको सबैले इमान्दारीका साथ काम गर्नुपर्छ”, उनले भनेका छन् । लोकार्पण भएको आत्मकथाबाट गिरिजाप्रसाद कोइराला र सुजता कोइरालाको जीवनका विषयमा धेरै जान्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
समारोहमा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो उतारचडावको सम्बन्ध रहेको स्मरण गर्दै उनीसँग सर्वप्रथम २०२५ सालमा नख्खु जेलमा भेट भएको सुनाए । “गिरिजा बाबु नथाक्ने, जुझारु र लडाकु स्वभावको हुनुहुन्थ्यो, उहाँसँग धेरै लामो समयसम्म काम गर्ने मौका पाएँ, म सभामपति हुनुमा पनि उहाँको केही न केही योगदान छ ,” देउवाले भने । यस्तै उनले तत्कालीन राजा ज्ञानेन्द्रको निरङ्कुश शासनकाविरुद्ध आफू र गिरिजाप्रसाद कोइराला सँगसँगै लडेको उल्लेख गरे ।
कांग्रेसका नेता डा शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्याउनका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले पु¥याएको योदानको चर्चा गरे । उनले देशमा सुशासनको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामीले विगतबाट पटक्कै पाठ सिकेका छैनौँ, अहिले कांग्रेस र एमालेको सरकार छ, हामीले कम्तीका देशको सुशासनको निम्ति काम गर्नुपर्छ ।”
यस्तै, कार्यक्रममा कांग्रेसका सहमहामन्त्री तथा सांसद भीष्मराज आङदम्बेले कांग्रेस पार्टीभित्र देखिएका गुठ–उपगुठ अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालाले देश र जनताका निम्ति गरेका त्याग, बलिदान र सङ्घर्षका विषयमा स्मरण गराउँदै त्यसबाट नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने धारणा व्यक्त गरे ।
नेत्री सुजाता कोइरालाले लामो मेहनत र अनुसन्धानबाट ‘म र मेरो सानो बुवा’ (आत्मकथा) को जन्म भएको बताइन् । उनले आत्मकथामा आफ्नो पारिवारिक र देशको राजनीतिका धेरै विषय समेटिएको जानकारी दिइन् ।

















प्रतिक्रिया दिनुहोस्