काठमाडौं। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहलाई आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्या समाधानको विषय प्राथमिकताका साथ उठाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले संसद्मा सीमा विवादबारे दिएको अभिव्यक्तिले नेपालको सार्वभौमिकता र सीमा अधिकार कमजोर पार्ने काम गरेको टिप्पणी गर्दै पोखरेलले त्यसलाई व्यवहारबाट सच्याउनुपर्ने बताएका हुन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल र भारतबीच सीमा समस्याबारे दुवै देशका दस्तावेजमा अभिलेखीकरण भइसकेको विषयलाई नेपालको आन्तरिक सरोकारका रूपमा लिनुपर्ने बताए ।
तेस्रो पक्षको सहभागितासम्बन्धी अभिव्यक्ति प्रधानमन्त्रीले सच्याए पनि नेपालको सीमा अधिकारसँग जोडिएको विवादास्पद अभिव्यक्ति नसच्याएको पोखरेलको आरोप छ ।उनले भने, ‘नेपाल र भारतका बीचमा सीमा सम्बन्धी समस्या छन् भन्ने कुराको डकुमेन्टेसन दुई पक्षकै बीचमा भइसकेको छ। यो नेपालको आफ्नो कन्सर्नको कुरा हो। अब त्यो समस्या समाधान गर्ने कुरामा प्रधानमन्त्रीले नेतृत्व गर्नुपर्ने बेला प्रधानमन्त्रीले आफ्नो पक्षको पैरवी गर्ने ठाउँमा त्यसलाई कमजोर पार्ने खालको जुन अभिव्यक्ति दिनुभयो, त्यो उचित होइन।’
प्रधानमन्त्रीले आगामी भारत भ्रमणमा सीमा समस्यालाई प्राथमिकताका साथ उठाएर आफ्नो अडान स्पष्ट पार्ने अपेक्षा गरेको उनले बताए । विगतमा प्रधानमन्त्रीले आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेको प्रसङ्ग उल्लेख गर्दै पोखरेलले अहिलेको प्रमुख दायित्व नेपालको वर्तमान सीमाङ्कन सुरक्षित गर्नु रहेको बताए । ‘ग्रेटर नेपालका कुरा त आजका सन्दर्भमा कति सान्दर्भिक हुन्छन्, ती इतिहासका विषय बनिसके,’उनले भने, ‘पछिल्लो समयको सीमाङ्कनलाई सुरक्षित गर्ने सरकारको दायित्व हो भन्ने कुरालाई उहाँले बोध गर्नु हुनेछ भन्ने म ठान्छु।’
यस्तै, पोखरेलले प्रधानमन्त्रीको राजनीतिक कार्यशैलीको आलोचना गर्दै पार्टीसँग संवाद गर्न छाडेका प्रधानमन्त्रीबाट प्रतिपक्षी दलहरूसँग संवादको अपेक्षा गर्न नसकिने टिप्पणी गरे। प्रधानमन्त्रीको कार्यशैली स्वाभाविक रूपमा लोकतान्त्रिक नभएको उल्लेख गर्दै उनले स्वेच्छाचारी र अधिनायकवादीको संज्ञा दिए । ‘प्रधानमन्त्रीले राजनीतिक दलहरूसँग संवाद गर्ने कुरा उहाँको नेचर नै लोकतान्त्रिक छैन के संवाद गर्ने ?’ उनले अगाडी भने, ‘आफ्नै पार्टीसँग त संवाद गर्न छोडी सक्नुभयो। प्रतिपक्षसँग संवाद गर्ने भन्ने कुराको अपेक्षा नै हामी गर्दैनौं।’ लोकतान्त्रिक शासन व्यवस्थामा राजनीतिक दलहरूसँग संवाद र सहकार्य आवश्यक हुने उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सच्याउन समेत आग्रह गरे। ‘उहाँको कार्यशैली नै अलोकतान्त्रिक छ स्वेच्छाचारी छ, अधिनायकवादी छ,’ पोखरेलले भने, ‘त्यसलाई सच्याउनुस् भन्ने हाम्रो आग्रह हो।’














प्रतिक्रिया दिनुहोस्