Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

कृषि यान्त्रीकरणको जग बस्न थालेको छ,एकाधवर्षमा ठुलो फड्को मार्छ :अध्यक्ष शर्मा (अन्तर्वार्ता)

कृषि यान्त्रीकरणको जग बस्न थालेको छ,एकाधवर्षमा ठुलो फड्को मार्छ :अध्यक्ष शर्मा (अन्तर्वार्ता)
विज्ञापन
Advertisement

काठमाडाैं । आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ आयोजना हुँदैछ। नेपालमा कृषि यान्त्रीकरणको विकास, आधुनिक प्रविधिको प्रयोग, उत्पादन लागत न्यूनीकरण तथा कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका आधुनिक कृषि उपकरण र प्रविधि प्रदर्शन गरिनेछ।

विज्ञापन
Advertisement
Advertisement

यसपटकको प्रदर्शनीमा ड्रोन, अटोमेसन, डिजिटल कृषि, ग्रिनहाउस प्रविधि, कोल्ड स्टोर, प्रशोधन तथा माछापालनमा प्रयोग हुने मेसिनरीलाई विशेष प्राथमिकता दिइएको आयोजकको भनाइ छ। प्रदर्शनीको तयारी, कृषि यान्त्रीकरणको वर्तमान अवस्था, पहाडी क्षेत्रमा प्रविधिको पहुँच र आगामी योजनालगायत विषयमा कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुँदैछ। प्रदर्शनीको तयारी अहिले कुन अवस्थामा पुगेको छ ?

आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीलाई हामी कृषि क्षेत्रसँग सम्बन्धित प्रविधि र मेसिनरीको महाकुम्भका रूपमा लिएका छौं। अहिले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ। हालै एफएनसीसीआईमा आयोजित पत्रकार सम्मेलनमार्फत पनि हामीले यसबारे जानकारी गराइसकेका छौं।

प्रदर्शनीका लागि स्टल बुकिङ लगभग पूरा भइसकेको छ। केही सीमित स्टल मात्रै विकास साझेदार संस्था तथा निःशुल्क सहभागिताका लागि छुट्याइएको छ। आन्तरिक व्यवस्थापन, लजिस्टिक्स र अन्य आवश्यक तयारी पनि लगभग सम्पन्न भइसकेका छन्।

प्रदर्शनी अवलोकनका लागि सम्बन्धित निकाय, संघसंस्था तथा सरोकारवालालाई निमन्त्रणा र पत्राचार गर्ने काम पनि भइरहेको छ। समग्रमा भन्नुपर्दा प्रदर्शनीको तयारी करिब ९० प्रतिशत पूरा भइसकेको छ। अब हामी मंसिर ४ गतेको प्रतीक्षामा छौं।

यसअघिका प्रदर्शनीभन्दा यसपटकको प्रदर्शनीमा के फरक हुनेछ ? किसानले यसपटक के नयाँ कुरा देख्न र सिक्न पाउनेछन् ?

यो निकै महत्वपूर्ण प्रश्न हो। हाम्रो प्रदर्शनीको यात्रा वि.सं. २०७० सालबाट सुरु भएको हो। त्यसयता हरेक दुई वर्षमा प्रदर्शनी आयोजना गर्दै आएका छौं। यसपटक आठौं संस्करण आयोजना हुँदैछ। त्यसैले अहिले पनि किसानलाई केवल थ्रेसर, ट्र्याक्टर र सामान्य कृषि उपकरण देखाउनकै लागि प्रदर्शनीमा बोलाउनुको खास अर्थ हुँदैन। यस्ता उपकरणबारे धेरै किसान जानकार भइसकेका छन्।

अहिले विश्वमा प्रविधिको विकास निकै तीव्र गतिमा भइरहेको छ। कृषि क्षेत्र पनि त्यसबाट अछुतो छैन। त्यसैले यसपटकको प्रदर्शनीमा नवीनतम प्रविधिलाई विशेष प्राथमिकता दिएका छौं। ड्रोन प्रविधि, अटोमेसन, डिजिटल कृषि, आधुनिक ग्रिनहाउस प्रणालीलगायतका प्रविधि प्रदर्शनीका मुख्य आकर्षण हुनेछन्।

कृषि भनेको जमिन तयार पार्नेदेखि बाली लगाउने, उत्पादन गर्ने, कटानी गर्ने, प्रशोधन गर्ने र भण्डारण गर्नेसम्मको लामो प्रक्रिया हो। विगतमा हाम्रो ध्यान मुख्यतः खेत जोत्ने, बाली काट्ने र थ्रेसिङ गर्ने मेसिनमा सीमित थियो। तर अहिले कृषिका प्रत्येक चरणमा नयाँ प्रविधि विकास भएका छन्।
यसपटक ग्रिनहाउसमा प्रयोग हुने आधुनिक तथा कोरियन प्रविधि, कोल्ड स्टोर, खाद्यवस्तु प्रशोधन, ग्रेडिङ, अटोमेसन, माछापालनमा प्रयोग हुने मेसिनरीलगायत विविध उपकरण प्रदर्शन गरिनेछ। किसानले उत्पादनदेखि बजारसम्मका विभिन्न चरणमा उपयोग गर्न सक्ने प्रविधि एउटै स्थानमा हेर्न, बुझ्न र जानकारी लिन पाउनेछन्। त्यसैले यसपटकको प्रदर्शनी विगतका संस्करणभन्दा फरक र बढी प्रविधिमैत्री हुनेछ।

नेपालको कृषि संरचना हेर्दा तराईमा यान्त्रीकरणको प्रभाव तुलनात्मक रूपमा बढी देखिन्छ। तर पहाडी तथा हिमाली क्षेत्रमा अझै पनि परम्परागत कृषि प्रणाली नै कायम छ । यस्तो अवस्थामा काठमाडौंमा प्रदर्शनी आयोजना गर्दा ती क्षेत्रका किसानले कति लाभ लिन सक्छन् ?

हाम्रो उद्देश्य काठमाडौंमा मात्रै प्रदर्शनी गर्ने भन्ने होइन। विगतमा हामीले चितवन, धरान, कोहलपुर, पोखरालगायत विभिन्न स्थानमा प्रदर्शनी आयोजना गरिसकेका छौं। लामो समयपछि यसपटक काठमाडौंमा आयोजना गर्न लागेका हौं।

काठमाडौंमा प्रदर्शनी आयोजना गर्नुका केही महत्वपूर्ण कारण छन्। पहिलो, कृषि यान्त्रीकरणको महत्व नीतिनिर्मातासम्म पु¥याउनु हो। अहिले सरकारको नीति तथा कार्यक्रममा पनि कृषि यान्त्रीकरणलाई प्राथमिकता दिइएको छ।

त्यसैले नीतिनिर्माताले प्रत्यक्ष रूपमा प्रविधि हेर्न, बुझ्न र यसको आवश्यकता महसुस गर्न सकून् भन्ने हाम्रो चाहना हो। दोस्रो, अन्तर्राष्ट्रिय प्रदर्शक तथा प्रविधि कम्पनीलाई पनि सहभागिताका लागि सहज वातावरण तयार गर्नु हो।

त्यसैगरी मध्यपहाडी तथा हिमाली क्षेत्रका किसानलाई पनि काठमाडौंसम्म आउन सहज हुन सक्छ। उदाहरणका लागि ताप्लेजुङका किसानलाई धनगढीभन्दा काठमाडौं आउन सहज हुन सक्छ। त्यसैले काठमाडौंमा आयोजना गर्दा देशका विभिन्न भौगोलिक क्षेत्रका किसानलाई सहभागी गराउन सकिन्छ भन्ने हाम्रो बुझाइ छ।

जहाँसम्म पहाडी क्षेत्रमा यान्त्रीकरणको कुरा छ, भौगोलिक बनावटका कारण त्यहाँ ठूला मेसिन प्रयोग गर्न कठिनाइ छ। तर त्यसको अर्थ पहाडमा यान्त्रीकरण सम्भव छैन भन्ने होइन। पछिल्लो समय नेपालमा हाते ट्र्याक्टरको प्रयोग उल्लेख्य रूपमा बढेको छ।

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय नेपालमा करिब ४० हजार हाते ट्र्याक्टर भित्रिएका छन्। यसले परम्परागत रूपमा गोरुबाट गरिने कामलाई क्रमशः मेसिनले प्रतिस्थापन गर्दै गएको देखाउँछ।

तराईमा ट्र्याक्टरबाट खेत जोत्ने, बाली काट्ने र थ्रेसिङ गर्ने काममा यान्त्रीकरणले राम्रो प्रगति गरेको छ। तर रोपाइँ, बीउ छर्ने, सुकाउने, प्रशोधन गर्ने र भण्डारण गर्ने क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ।
पहाडी क्षेत्रका लागि भने साना, हलुका र सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने पोर्टेबल मेसिन आवश्यक छन्। त्यसैले यसपटकको प्रदर्शनीमा पनि ठूला मेसिनरीभन्दा साना उपकरण, ग्रिनहाउसमा प्रयोग हुने प्रविधि तथा पहाडी क्षेत्रमा उपयोगी हुने मेसिनरीलाई बढी प्राथमिकता दिएका छौं।
अर्कोतर्फ पहाडी क्षेत्रमा बसाइँसराइका कारण गाउँ खाली हुँदै जानु, खेतीयोग्य जमिन बाँझो रहनु र जग्गा खण्डीकरणजस्ता समस्या पनि छन्। कतिपय अवस्थामा जग्गाधनीले आफूले खेती नगर्ने तर अरूलाई पनि खेती गर्न नदिने अवस्था छ। यसले उत्पादन र उत्पादकत्व वृद्धि गर्न कठिनाइ भइरहेको छ।
अहिले भूमि बैंकजस्ता अवधारणा पनि नीतिगत छलफलमा आएका छन्। यस्ता नीतिले खेतीयोग्य जमिन सहज रूपमा उपलब्ध गराउन सके आधुनिक मेसिनरी र प्रविधिको प्रयोग विस्तार गर्न सकिन्छ। भविष्यमा पहाडी जिल्लाहरूमा पनि साना तथा स्थानीय आवश्यकताअनुसारका मिनी प्रदर्शनी आयोजना गर्ने सोचका साथ हामी अगाडि बढिरहेका छौं।

नेपालको समग्र कृषि उत्पादन र उत्पादकत्व हेर्दा त्यसअनुसार यान्त्रीकरणको प्रभाव देखिन सकेको छ त ?
तपाईंले उठाउनुभएको विषयसँग म सहमत छु। नेपालमा कृषि यान्त्रीकरणको प्रभाव बढ्दै गएको छ, तर सबै क्षेत्रमा समान रूपमा यसको विकास हुन सकेको छैन। हाम्रा मुख्य बाली धान, गहुँ र मकै हुन्। यी बालीमा यान्त्रीकरणको प्रयोग तुलनात्मक रूपमा बढेको छ।

विशेषगरी तराई क्षेत्रमा यसको प्रभाव राम्रो देखिन थालेको छ। उपलब्ध राष्ट्रिय तथ्यांकका आधारमा यान्त्रीकरणले उत्पादन लागत करिब ६० प्रतिशतसम्म घटाउन र उत्पादन तथा उत्पादकत्वमा करिब १५ देखि २० प्रतिशतसम्म वृद्धि गर्न सहयोग पु¥याएको देखिन्छ।

तर हामीले अझै धेरै काम गर्नुपर्ने क्षेत्र छन्। उदाहरणका लागि तोरी, आलु तथा अन्य बालीको बीउ रोप्ने काममा अझै पनि धेरै किसानले परम्परागत र मानवीय श्रममै निर्भर हुनुपरेको छ। धान रोपाइँकै कुरा गर्ने हो भने नेपालमा अझै ठूलो हिस्सा म्यानुअल प्रणालीमा निर्भर छ। हाम्रो अनुमानमा करिब ९० प्रतिशतभन्दा बढी धान रोपाइँ अझै पनि मानवीय श्रमबाटै भइरहेको छ।

जबकि भारतका केही क्षेत्रमा र बंगलादेश तथा चीनमा स्वचालित धान रोप्ने मेसिनको प्रयोग प्रभावकारी रूपमा भइरहेको छ। हामीले पनि छिमेकी मुलुकले कुन प्रविधि कसरी प्रयोग गरिरहेका छन् भन्ने अध्ययन गरेर त्यस्ता प्रविधि भित्र्याउनुपर्छ। त्यसका लागि सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक छ। किसानलाई प्रविधि खरिद गर्न प्रोत्साहन, सहुलियत र आवश्यक तालिमको व्यवस्था गर्न सके यान्त्रीकरणको गति अझ तीव्र बनाउन सकिन्छ।

हाम्रो प्राथमिकता उत्पादनका सबै चरणमा यान्त्रीकरण विस्तार गर्नु हो। खेत जोत्ने र बाली काट्ने काममा मात्रै होइन, बीउ रोप्ने, उत्पादन सुकाउने, प्रशोधन गर्ने र भण्डारण गर्नेसम्म आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्छ।
कृषि यान्त्रीकरणको विषयमा व्यवसायीहरूले विगतमा भन्सार नीतिलाई प्रमुख समस्याका रूपमा उठाउँदै आएका थिए।  भन्सारको विषय त्यति धेरै उठेको सुनिएन। के सरकारले यस क्षेत्रमा व्यवसायीका माग सम्बोधन गरिसकेको हो ?

भन्सार नीतिसम्बन्धी विषय हामीले उठाउन छाडेका होइनौं। यस्ता विषय सामान्य पत्रकार सम्मेलनभन्दा पनि सरकारसँग हुने नीतिगत संवाद, अर्थ मन्त्रालयसँगको छलफल र सम्बन्धित निकायसँगको अन्तरक्रियामा उठाउने गरेका छौं।

नेपाल सरकारले कृषि यन्त्र तथा प्रविधिको आयातमा धेरैजसो मेसिनरीमा भन्सार छुट दिएको छ। त्यस्तै, धेरै उपकरणमा मूल्य अभिवृद्धि कर (भ्याट) पनि छुट छ। यसका लागि हामी सरकारलाई धन्यवाद दिन चाहन्छौं।

तर केही क्षेत्रमा अझै समस्या छ। विशेषगरी प्लास्टिकबाट बनेका कृषि प्रविधि तथा ग्रिनहाउसमा प्रयोग हुने विभिन्न सामग्रीको आयातमा अझै पनि पाँच प्रतिशतसम्म भन्सार लाग्ने अवस्था छ। यस्ता सामग्रीको प्रयोग आधुनिक कृषि प्रणालीमा महत्वपूर्ण हुन्छ। त्यसैले यस्ता सामग्रीमा पनि सहुलियत आवश्यक छ भन्ने हाम्रो माग हो।

हामीले अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सम्बन्धित सरोकारवालासँगको छलफलमा यो विषय उठाउँदै आएका छौं। आगामी दिनमा हुने नीतिगत संवादमा पनि यसलाई निरन्तर उठाउनेछौं। समग्रमा सरकारले कृषि यान्त्रीकरणलाई प्रोत्साहन गर्ने गरी धेरै मेसिनरीमा भन्सार तथा कर छुट दिएको छ। त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ। यद्यपि बाँकी रहेका केही नीतिगत समस्या समाधान गर्न भने आवश्यक छ।

अन्त्यमा, आगामी मंसिर ४, ५ र ६ गते आयोजना हुने आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन किसान तथा कृषि क्षेत्रका सरोकारवालालाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम यस प्रदर्शनीलाई आफ्नो सञ्चारमाध्यममार्फत प्राथमिकता दिनुभएकोमा तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। म सम्पूर्ण किसान, कृषि व्यवसायी, नीतिनिर्माता, वैज्ञानिक, विद्यार्थी, अनुसन्धानकर्ता तथा कृषि क्षेत्रलाई माया गर्ने सबैलाई मंसिर ४, ५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आठौं अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी अवलोकन गर्न हार्दिक निमन्त्रणा गर्न चाहन्छु।

कृषि कर्म गरिरहनुभएका, भविष्यमा कृषि क्षेत्रमा लाग्न चाहनुभएका र कृषि प्रविधिप्रति चासो राख्ने सबैका लागि यो महत्वपूर्ण अवसर हो। यहाँ आएर आफूलाई आवश्यक पर्ने आधुनिक मेसिनरी तथा प्रविधिबारे जानकारी लिन, नयाँ उपकरण हेर्न, व्यवसायी तथा उत्पादकसँग प्रत्यक्ष संवाद गर्न र आफ्नो कृषि कर्मलाई कसरी सहज तथा उत्पादनमुखी बनाउन सकिन्छ भन्ने कुरा बुझ्न सक्नुहुनेछ। यो प्रदर्शनी कुनै एउटा संस्था वा व्यवसायीको मात्रै कार्यक्रम होइन।

संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्य तथा नेपाल कृषि मेसिनरी व्यवसायी संघको सहजीकरणमा आयोजना हुन लागेको यो कार्यक्रम सम्पूर्ण किसान र कृषि क्षेत्रकै हितका लागि हो। त्यसैले म सबैलाई मंसिर ४, ५ र ६ गते भृकुटीमण्डपमा उपस्थित भएर प्रदर्शनीको अवलोकन गर्न र आधुनिक कृषि प्रविधिको लाभ लिन हार्दिक निमन्त्रणा गर्दछु।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit