काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको कला, संस्कृति, इतिहास र सम्पदाको संरक्षणलाई राष्ट्रिय पहिचान, सामाजिक एकता र आर्थिक समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।
उनले सांस्कृतिक सम्पदाको संरक्षण केवल इतिहास जोगाउने विषय नभई पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र दिगो आर्थिक विकासको महत्वपूर्ण आधारसमेत भएको बताए । हस्तकला महासंघका पूर्वअध्यक्ष इन्द्रबहादुर शाक्य वंशद्वारा लिखित ‘नेपालको कला, संस्कृति, चाडपर्व, जात्रा र सम्पदाहरूको संग्रह’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले संस्कृति कुनै पनि राष्ट्रको पहिचान र सभ्यताको जीवन्त दस्तावेज भएको उल्लेख गरे । उनले नेपालको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै अनुसन्धान, अभिलेखीकरण तथा वैज्ञानिक अध्ययनमार्फत भावी पुस्तामा ज्ञान हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार काठमाडौं उपत्यकाका जात्रा तथा पर्वहरू प्राचीन सभ्यता, धार्मिक आस्था, सामुदायिक एकता, सामाजिक संगठन र परम्परागत सीप तथा शिल्पकलाका महत्वपूर्ण परिचायक हुन् । यस्ता मौलिक परम्पराले सामाजिक सद्भाव र एकता कायम राख्नुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएका छन् ।अग्रवालले तीव्र सहरीकरण, अव्यवस्थित विकास, जलवायु परिवर्तन, भूकम्प, आगलागी तथा वातावरणीय प्रदूषणका कारण नेपालको मूर्त र अमूर्त सांस्कृतिक सम्पदामाथि चुनौती थपिँदै गएकोप्रति चिन्ता व्यक्त गरे । परम्परागत बस्ती, मठमन्दिर, पाटी, पोखरी तथा ऐतिहासिक संरचनाको संरक्षणका लागि स्पष्ट सरकारी नीति, पर्याप्त बजेट र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ छ।
सांस्कृतिक सम्पदाको संरक्षण सरकारको मात्रै दायित्व नभई स्थानीय समुदाय, निजी क्षेत्र, शैक्षिक संस्था, नागरिक समाज र अन्य सरोकारवालाको साझा जिम्मेवारी भएको उनले बताए । संरक्षण अभियानलाई दिगो र प्रभावकारी बनाउन विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय इतिहास, कला, संस्कृति र सम्पदासम्बन्धी विषय समावेश गर्नुपर्नेमा समेत उनले जोड दिए ।परम्परागत कला र सीपको निरन्तरताका लागि कलाकार, शिल्पकार, मूर्तिकार, काष्ठकर्मी तथा धातुकर्मीको आर्थिक र सामाजिक सुरक्षामा विशेष ध्यान दिनुपर्ने अग्रवालले बताए। पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका मौलिक सीप र प्रविधिको संरक्षणसँगै नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको धारणा छ।
नेपालको सांस्कृतिक विविधता पर्यटन विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले सम्पदामा आधारित पर्यटन प्रवद्र्धनबाट रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको विकास र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउन सकिने बताए । सांस्कृतिक सम्पदालाई संरक्षणमा मात्र सीमित नराखी उत्पादन, पर्यटन र आर्थिक गतिविधिसँग जोड्न सके त्यसले दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
अध्यक्ष अग्रवालले पुस्तकका लेखक, अनुसन्धानकर्ता, प्रकाशक तथा प्रकाशनमा सहयोग पुर्याउने सबैलाई बधाई तथा धन्यवाद दिँदै यस्ता अनुसन्धानमूलक कृतिले नेपालको कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले सांस्कृतिक सम्पदाको संरक्षणलाई विगतको इतिहास जोगाउने कार्यका रूपमा मात्रै नभई वर्तमान पुस्ताको दायित्व र भावी पुस्ताप्रतिको जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिए ।















प्रतिक्रिया दिनुहोस्