काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणको तयारी भइरहेका बेला नेपालले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। नेपालमा हिउँदमा आन्तरिक उत्पादनले माग धान्न कठिन हुने आकलनसँगै भारतबाट विद्युत् खरिदको बाटो खुलेको हो।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड तथा रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो । प्राधिकरणले आगामी १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म उक्त अनुमतिअनुसार विद्युत् आयात गर्न सक्नेछ। बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट विद्युत् खरिद गर्न पाइनेछ ।
अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत थप ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भारतबाट विद्युत् आयातको अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सहज हुने बताएका छन् ।
रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुगेपछि ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन्। यसले आगामी हिउँदयाममा विद्युत् आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनाउन सक्ने भएकाले आवश्यक तयारी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् । प्राधिकरणको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक विद्युत् उत्पादनभन्दा माग बढी हुने देखिएको छ। गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको प्रक्षेपणअनुसार उक्त अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्नेछ ।
विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अनुमान छ । यस्तै, विद्युत् खपत उच्च हुने पिक आवरमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आकलन छ । पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्नेछ। आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव बढ्दै जाँदा आन्तरिक विद्युत् उत्पादनमा वृद्धि हुने र भारतबाट हुने आयात क्रमशः घट्दै जाने अनुमान छ । त्यसपछि नेपालले पुनः विद्युत् निर्यात सुरु गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ । प्राधिकरणले उक्त विद्युत् आजदेखि १५ साउन २०८४ सम्म निर्यात गर्न सक्नेछ । यससँगै नेपालले हिउँदयाममा आवश्यकताअनुसार भारतबाट विद्युत् आयात गर्ने र उपलब्ध अतिरिक्त विद्युत् भारतीय बजारमा बिक्री गर्ने बाटो खुला भएको छ।















प्रतिक्रिया दिनुहोस्