काठमाडौं। नेपालका बाढी प्रभावित क्षेत्रको पुनःस्थापना, प्रभावित परिवारको जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको पुनरुत्थानका लागि नेपाल र भारतका निजी क्षेत्रले सहकार्य गर्ने भएका छन् । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा आइतबार भएको समझदारीपत्रमा सीआईआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह साहनी र एफएनसीसीआईका उपाध्यक्ष कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार दुवै संस्थाले बाढी प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवा, सरसफाइ, जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनःसञ्चालनका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन् । सहकार्यलाई दुई चरणमा अघि बढाउने योजना बनाइएको छ ।
कार्यक्रमको पहिलो चरणमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा र राहतलाई प्राथमिकता दिइनेछ । यसअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वास्थ्य सामग्री (वास किट) उपलब्ध गराउने र दुईवटा अस्पताललाई एम्बुलेन्स प्रदान गर्ने योजना छ । स्वास्थ्य शिविरमार्फत सामान्य स्वास्थ्य परीक्षण, मातृ तथा बाल स्वास्थ्य सेवा तथा बाढीपछि फैलिन सक्ने पानीजन्य र अन्य सङ्क्रामक रोगको पहिचान एवं उपचारमा सहयोग गरिनेछ । प्रभावित परिवारलाई व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी र रोगको संक्रमण रोकथामका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराइनेछ । पहिलो चरणको स्वास्थ्य तथा राहत कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कार्यक्रम अघि बढाउन प्रभावित क्षेत्रको स्थलगत आवश्यकता मूल्यांकन, लाभग्राही पहिचान, कार्यक्षेत्र निर्धारण र आवश्यक सरकारी स्वीकृति लिने प्रक्रिया अघि बढाइनेछ ।
कृषि, पशुपालन र साना उद्यम पुनःसञ्चालनमा सहयोग
समझदारीको दोस्रो चरणमा बाढीबाट प्रभावित परिवारको आयआर्जन र जीविकोपार्जन पुनःस्थापनामा जोड दिइनेछ । यसअन्तर्गत कृषि, पशुपालन, साना व्यवसाय तथा स्थानीय सेवामूलक उद्यम पुनःसञ्चालनका लागि आवश्यक औजार, उपकरण, सीप विकास र व्यावसायिक तालिम उपलब्ध गराउने योजना छ । त्यस्तै, बाढीबाट प्रभावित सूक्ष्म, लघु तथा साना उद्यम (एमएसएमई) को पुनरुत्थानका लागि प्राविधिक सहयोग र वित्तीय पहुँचसम्बन्धी जानकारी उपलब्ध गराइनेछ । प्रभावित उद्यमीलाई बजारसँग जोड्ने तथा नेपाली र भारतीय उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार गर्ने विषयलाई समेत सहकार्यमा समेटिएको छ । यसका अतिरिक्त प्रभावित जिल्लाको स्थानीय आर्थिक पुनरुत्थान तथा विकास योजना निर्माणमा पनि दुवै संस्थाले सहयोग गर्नेछन् । यसबाट विपद्का कारण बन्द भएका व्यवसाय पुनःसञ्चालन हुनुका साथै स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङ प्राथमिकतामा
कार्यक्रम सञ्चालनका लागि बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङलाई प्राथमिकतामा राखिएको छ । आवश्यकता र सम्भाव्यताका आधारमा गोरखा, बागलुङ तथा दोस्रो चरणको बाढीबाट प्रभावित मुस्ताङ र मनाङलगायत जिल्लामा समेत कार्यक्रम विस्तार गर्न सकिने समझदारीपत्रमा उल्लेख छ । तर, कार्यक्रमको अन्तिम कार्यक्षेत्र भने स्थलगत अध्ययन तथा नेपाल सरकार र स्थानीय निकायसँगको समन्वयपछि निर्धारण गरिनेछ । समझदारीअनुसार भारतीय उद्योग परिसंघले भारतीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्ने, कार्यक्रमका लागि आवश्यक स्रोत परिचालन गर्ने र कार्यान्वयन साझेदार पहिचान गर्ने जिम्मेवारी लिनेछ ।
नेपाल उद्योग वाणिज्य महासंघले भने नेपाल सरकार तथा स्थानीय निकायसँग समन्वय, आवश्यक स्वीकृति र सहजीकरण, स्थानीय उद्योगी व्यवसायीको सहभागिता तथा कार्यक्रमको स्थानीय व्यवस्थापन गर्नेछ । एक वर्षका लागि लागू हुने समझदारीपत्रमा दुवै पक्षको आपसी सहमतिमा विशेष कार्यक्रम, स्रोत परिचालन र वित्तीय व्यवस्थासम्बन्धी थप सहमति गर्न सकिने व्यवस्था छ । विपद्पछिको राहतलाई दीर्घकालीन आर्थिक पुनरुत्थानसँग जोड्ने उद्देश्यसहित भएको यो सहकार्यले बाढी प्रभावित परिवारको जीवनस्तर सुधार, उद्यमशीलता प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई पुनःगतिशील बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्