काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालनमा रहेको राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। कम्पनीले स्वेच्छिक रूपमा कारोबार बन्द गर्ने निर्णय गर्दै इजाजतपत्र खारेजीका लागि निवेदन दिएपछि केन्द्रीय बैंकले उक्त निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले आज सूचना निकालेर भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा रहेको राष्ट्रिय मनिचेञ्जरले भारतीय रुपैयाँ (भारु) खरिद तथा बिक्रीको कारोबार गर्न राष्ट्र बैंकबाट अनुमति लिएको थियो।तर, कम्पनीले आफ्नो व्यावसायिक कारोबार बन्द गर्ने निर्णय गर्दै इजाजतपत्र खारेज गरिदिन राष्ट्र बैंकसमक्ष स्वेच्छिक निवेदन पेस गरेको थियो। सोही निवेदनका आधारमा राष्ट्र बैंकले इजाजतपत्र खारेज गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७९ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम २०८३ कात्तिक २० गते बसेको निर्णयअनुसार कम्पनीको इजाजतपत्र औपचारिक रूपमा खारेज गरिएको हो। यससँगै राष्ट्रिय मनिचेञ्जर प्रालिले राष्ट्र बैंकबाट प्राप्त इजाजतपत्रअन्तर्गत सञ्चालन गर्दै आएको भारतीय मुद्रा खरिद–बिक्री कारोबार गर्ने अनुमति समाप्त भएको छ।













प्रतिक्रिया दिनुहोस्