काठमाडौं । शेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.५७ अंकले घटेर २ हजार ६२८.१७ विन्दुमा झरेको छ । अघिल्लो दिन बिहीबार पनि नेप्से १०.८९ अंकले घटेको थियो ।
बजारमा गिरावट आएसँगै कारोबार रकमसमेत घटेको छ। बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको शेयर किनबेच भएकोमा शुक्रबार घटेर ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । यस दिन कारोबारमा आएका कम्पनीमध्ये २०३ वटाको शेयर मूल्य घटेको छ भने ५८ कम्पनीको मूल्य बढेको छ। बाँकी कम्पनीको मूल्य स्थिर रह्यो।
शुक्रबार बैंकिङ र निर्जीवन बीमा समूहबाहेक सबै उपसमूहका सूचक राताम्य भएका छन् । बैंकिङ समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेका छन् । यता विकास बैंक समूह सर्वाधिक ०.७६ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत् ०.७४, उत्पादन तथा प्रशोधन ०.६५, माइक्रोफाइनान्स ०.५२, लगानी ०.४१ र जीवन बीमा समूह ०.३० प्रतिशतले ओरालो लागेका छन् ।
कम्पनीगत कारोबारमा एनआईसी एसिया बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। बैंकको शेयर मूल्य ६.०८ प्रतिशतले बढेको छ । मान्डु हाइड्रोपावर ४.७६, बेस्ट फाइनान्स ४.३०, उपकार लघुवित्त ३.१३ र माथिल्लो मैलुङखोला जलविद्युत् ३.०६ प्रतिशतले बढेका छन् । यसको विपरीत सोपान फर्मास्युटिकल्सको शेयर मूल्य सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ । युनिक नेपाल लघुवित्त ४.६४, बेनी हाइड्रोपावर ४.२७ र भुजुङ हाइड्रोपावर ४.२१ प्रतिशतले गिरावट आएको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २४ करोड ९९ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख र हिमालयन ऊर्जा विकास कम्पनीको १५ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।














प्रतिक्रिया दिनुहोस्