काठमाडौं । नेपाली महिला साहसिकताको अर्को शिखर चुम्न तयार हुँदै गर्दा पञ्चकन्या समूहले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बहुआयामिक प्रतिभा भएकी कविता नेपालीलाई सगरमाथा र लोत्से शिखर आरोहणको अभियानमा सहयोग पुर्याएको छ।
समूहका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठका अनुसार, यो सहयोग केवल आर्थिक नभई नेपाली महिलाहरूको क्षमता र सम्भावनालाई विश्वसामु चिनाउने उद्देश्यले गरिएको हो। ‘कविता नेपाली एक कलाकार मात्र नभई, एक प्रेरणादायी साहसी महिला हुन् जसले हिमालय चढ्ने यात्रामा सम्पूर्ण नेपाली महिलाको शक्ति र आशालाई अगाडि बढाउँदैछिन्,’ श्रेष्ठले बताए।
कविताले सन् २०१८ मा ुबुगी वुगी इन्टरनेसनलु नृत्य प्रतियोगिता र चिनियाँ मार्सल आर्टमा सफलता हासिल गरेकी थिइन्। अब उनी त्यो अनुभव र आत्मविश्वासका साथ विश्वको सर्वोच्च शिखर सगरमाथातर्फ अघि बढेकी छन्।
पञ्चकन्या समूहको यो पहल महिला सशक्तिकरणका लागि समूहले लामो समयदेखि गर्दै आएको कार्यको निरन्तरता हो। यसअघि सन् २०१३ मा माउन्ट किलिमान्जारो आरोहण गर्ने ‘सेभेन समिट्सु महिला टोलीलाई समूहले ४०औं वार्षिकोत्सवको अवसरमा सहयोग गर्दै आफ्नो ब्यानर चुचुरोमा पुर्याएको थियो।
त्यस्तै, सगरमाथा आरोहण गर्ने निशा अधिकारी, डा. प्रिती भुसाल र पाँचजना साहसी महिला पत्रकारहरूको अभियानमा पनि समूहले साथ दिएको थियो।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक गरिएको यो साझेदारीले आर्थिक सहयोगभन्दा पर, दीर्घकालीन प्रभाव पार्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
शिक्षा, वातावरण, महिला सशक्तिकरण, स्वास्थ्य र सरसफाइ तथा सिप विकासमा केन्द्रित पञ्चकन्या समूहको सामाजिक उत्तरदायित्व रणनीति नैतिक, समावेशी र दिगो विकासतर्फ लक्षित छ। कविता नेपालीलाई दिएको यो साथले त्यही प्रतिबद्धतालाई थप सुदृढ बनाएको समूहको भनाइ छ।

















प्रतिक्रिया दिनुहोस्